श्रीमती र बाबुआमा पनि पुगेका थिए रेशमको सपथमा

निर्वाचित भएको १३ महिनापछि सांसदको शपथ खाएर डिल्लीबजार जेल फर्किएका कैलाली क्षेत्र नम्बर १ का सांसद रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले आफ्ना पति छिट्टै घर फर्किने विश्वास व्यक्त गरेकी छन् । रेशमको शपथका लागि सिंहदरबार पुगेकी रञ्जिताले रेशम छिट्टै घर फर्किने विश्वास परिवारले लिएको बताएकी हुन् ।

‘निर्वाचित भएको एक वर्षसम्म शपथ भएको थिएन । शथप लिएर उहाँ जेल गएपनि केही दिनमा घर आउनुहुन्छ भन्ने आशा गरेकी छु,’ संसद् परिसरमा पत्रकारहरूसँग रञ्जिताले भनिन् । रञ्जितासँगै छोरा आभुषण पनि बुवाको शपथ ग्रहण समारोह हेर्न सिंहदरबार पुगेका थिए ।

सपथपछि रेशम चौधरीले भने : माला र खादा लगाएर फेरि जेल जानुपर्ने ?

सांसद रेशम चौधरीले सपथ खुवाएपछि सांसदलाई जेल पठाउन मिल्छ कि मिल्दैन भनी प्रश्न गरेका छन् । बिहीबार संसद सचिवालयमा सभामुख कृष्णबहादुर महरासँग सपथ लिएपछि उनले सपथ खुवाएपछि सांसदलाई कारागार पठाउन मिल्छ कि मिल्दैन भन्ने प्रश्न गरेका हुन् ।

‘यो लोगो सांसदको लोगो हो । एकजना सांसदलाई सपथ खुवाएर कारागारमा पठाउन मिल्छ कि मिल्दैन ?’ उनले भने ‘यो लोगोको सम्मान के हो ? यो लोगो हामी सम्पूर्ण प्रतिनिधि र राष्ट्रियसभामा सहभागी हुने सदस्यको कत्तिको इज्जत राख्छ राज्यले बोल्ला, संसदले बोल्ला ।’

आफू माला र खादा लगाएर फेरि जेल जानुपर्ने भन्दै उनले प्रश्न गरे । ‘मैले लगाएको लोगोको प्रतिष्ठा कति रहन्छ कति रहन्न ?’ नेपाली कानूनमा कुनै पनि व्यक्तिलाई साढे ३ वर्षसम्म पुर्पक्षका लागि थुनामा राख्न नपाइने भए पनि आफूहरु जेलमा बसिरहेको भन्दै चौधरीले यो मुद्दा छिटो भन्दा छिटो टुंग्याउन आग्रह गरे । आफूले द्वन्द्व नचाहेको भन्दै उनले जनताले न्याय नपाएसम्म समृद्धि नआउने बताए । ‘शान्ति नभई समृद्धि बन्न सक्दैन । समृद्धि बनाउन जनतालाई न्याय दिनुपर्छ’ उनले भने ।

प्रवासमा पकौडा खाएर बस्नुभन्दा आफ्नै देशको दालभात तरकारी मन परेर जेल बस्न आएको उनले बताए । ‘मलाइ मेरै देशको दालभात तरकारी मन प र्‍यो र जेलमा बन्द भएँ । जेलमा पनि सर्वसाधारण कैदीको जीवनयापन गरिरहेको छ’ उनले भने ।