
र केही दिन अघि मेची अञ्चलमा नै पहिलो पटक बालुवा माथि खेलिने भलिबल खेल झापामा सम्पन्न भएको छ । झापामा पहिलो पटक भए पनि तीन वर्ष अघि सुनसरीको इटहरीमा बालुवा ल्याएर दुई पटक खेल सम्पन्न भएको छ ।
पछिल्लो पटक युवा वर्गमा क्रिकेट र फुटबलमा आकर्षण भइरहेको अवस्थामा खस्किँदै गएको भलिबल खेलमा आकर्षण थप्न समुद्री किनारमा खेलाइने बिच भलिबल खेललाई नेपालमा पनि भित्र्याउन थालिएको हो।
बीस वर्ष अघिको भलिबल प्रतिको आकर्षण र वर्तमानमा ठूलो भिन्नता देखिएको भलिबलका ज्ञाताहरू सम्झन्छन् । बिच भलिबलले सन् १९९६ मा ओलम्पिक खेलमा समावेश भइसकेको छ । राष्ट्रिय प्रतियोगिता पाँचौँ पटक सम्पन्न भइसकेको छ ।
तर, बिच भलिबलको चर्चा भने नेपालमा खासै पाइँदैन । पूर्वी नेपालको मेची नदीमा पुस ५ देखि ७ गतेसम्म बिच भलिबल सञ्चालन भयो । नेपाल र भारतका खेल प्रेमीको बाक्लो उपस्थिति रहयो ।
बिच भलिबल ब्राजिल, नेदरल्याण्ड र एसियाली देशका समेत समुद्री किनारमा आयोजना हुने गरेको छ । यसले पर्यटनको प्रवद्र्धन र मनोरञ्जन दिने काम गरेको छ । तर, नेपालको हकमा भने बगर र नदीनाला पर्याप्त नभएका कारण खेलाउन मुस्किल हुने गरेको वरिष्ठ भलिबल प्रशिक्षक बिरेन्द्र चौधरी बताए ।
अन्य खेलझैं बिच भलिबललाई नै चर्चामा ल्याउन औद्योगिक मेला–महोत्सवमा पनि समावेश गराउँदै आएको उनले बताए । नदी किनारको समस्या भए पनि बालुवा ल्याएर इन्डोर ‘गेम’ गर्न सकिने बताए ।
नेपालमा खेर गइरहेको बगरलाई प्याराफिट सहितको खेल मैदान बनाएर स्थायित्व दिने हो भने खेलसँगै पर्यटनको सम्भाव्यता बढ्ने प्रशिक्षक चौधरी बताउँछन् । पर्यटन प्रवद्र्धनसँगै आयआर्जन भई सरकारलाई आर्थिक टेवा समेत पुग्ने धारणा उनको छ ।
केही दिनअघि सम्पन्न भएको बिच भलिबल वडासँगै जिल्लास्तरीय हुन जरुरी रहेको भलिबल कोच हेमा थापा बताउँछिन् । खस्किँदै गएको भलिबललाई बिच मार्फत् चर्चामा ल्याउनु पर्ने उनको विचार छ ।
यो अन्य खेलभन्दा बढी रोमाञ्चक भएकाले नेपालमा यसको सम्भाव्यता रहेको उनको बुझाइ छ । अबको समयमा खेललाई पर्यटनसँग जोड्न आवश्यक रहेको ट्राभल्स सङ्घ झापाका अध्यक्ष तथा पर्यटनकर्मी नीरबहादुर (नेत्र) कार्की बताउँछन् ।
नेपालमा रहेका मेची, कोशी, कर्णाली, सेती नदी तथा खोला किनारमा खेल मैदान बनाएर आयोजना गर्ने हो भने आन्तरिक तथा बाह्य पर्यटन विकासको प्रवल सम्भावना रहेको कार्कीको धारणा छ ।
विश्वमा हुने ओलम्पिक खेल समापन हुने बित्तिकै आगामी प्रतियोगिताका लागि लागि तयारी शुरु भएजस्तै बिच भलिबल खेललाई पनि त्यस्तै बनाउन सकिने पर्यटनकर्मी कार्कीको भनाइ छ ।
बिच भलिबलको प्रचार– प्रसार कम भएकाले प्रायः खेलाडीको यसतर्फ ध्यान नगएको बताए । खेलकुदसँगै पर्यटन भित्र्याउने हाल केही योजना नभए पनि आगामी दिनमा खेलकुद क्षेत्रसँग समन्वय गरेर यसको विकास र विस्तारका लागि गहन रूपमा छलफल गर्ने बताए ।