सेन्चुरी युवा क्लब छोम्रोङले आयोजना गरेको ल्होसार मेला २०७५ मंगलबार सकिएको छ । पुस ५ बाट सुरु भएको मेलाको बुधबार भएको समापन समारोहमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले सरकार खेलकुद क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा अघि बढेको बताए । उनले घान्दुकमा हाई अल्चिच्युड स्टेडियम बनाउन लागि परेको बताए ।
खेलकुदको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्धनमा मद्दत पुग्ने बताउँदै मन्त्री विकले अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गलाई व्यवस्थित गरी यस क्षेत्रको पूर्वाधार निर्माणमा विशेष पहल भइरहेको बताए । सो अवसरमा मन्त्री विकले छोम्रोङमा लङ टेनिस कोर्टसमेत शिलान्यास गरे ।
अन्नपूर्ण गाउँपालिका प्रमुख युवराज कुँवरले बाह्रै महिना स्वदेशी तथा विदेशी पर्यटक ल्याउन उचित कदम चालिएकोे बताए ।
उनले सेन्चुरी पदयात्रा मार्गको मर्मत सम्भार र स्तरोन्नति गर्ने कार्य गाउँपालिकाले गरिरहेको उल्लेख गरे । ‘गाउँपालिकाका स्थानीयको मुख्य आम्दानीको स्रोत पर्यटन नै हो,’ उनले भने, ‘पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसारसँगै पूर्वाधार विकासमा हाम्रो जोड छ ।’ उनले गाउँपालिकामा सार्वजनिक जमिनमा रहेका होटलको सुरक्षाको जिम्मा गाउँपालिकाले लिनेसमेत बताए ।
मेलाको अवसरमा खुला पुरुष तथा महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता भएका छन् । खुला पुरुष भलिबल प्रतियोगितातर्फ न्यु डाँफे युवा क्लब मेलाचे विजयी भएको छ ।
महिलातर्फ भने न्यु डायमन्ड एकेडेमी काडमाण्डौं पहिलो भएको छ । मंगलबार भएको फाइनल खेलमा खुला पुरुष भलिबलतर्फ न्यु डाँफेले ताउलुङ झिनु आमा समुहलार्ई ३–१ को प्रतिस्पर्धात्मक सेटमा हराएको हो ।
न्यु डाँफेले २५–१६, २५–१९, २५–१८, १६–२५ कोे सेटमा ताउलुङलाई पाखा लगायो । पुरुष भलिबलमा न्यु डाँफेका अशोक सुनुवार उत्कृष्ट खेलाडी घोषित भए । विजेताले ६० हजार रुपैयाँ र उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गरेका छन ।
महिला भलिबलतर्फ न्यु डायमन्ड एकेडेमी काठमाडौंले सेञ्चुरी युवा क्लब छोम्रोङलाई २५–१६, २५–१५ र २५–१४ को सोझो सेटले हरायो । महिला भलिबलमा सेन्चुरी युवा क्लबकी ममता थापा उत्कृष्ट खेलाडी भइन् । विजेताले ५० हजार र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गरे ।
खुला बास्केटबल प्रतियोगितामा मेश्रम युथ क्लब घान्द्रुक विजयी भएको छ । मेश्रमले स्पोर्ट एजुकेसनल क्लब काठमाण्डौलाई पराजित गरेको हो ।
निर्धारित समयमा मेश्रमले ४७ स्कोर जोड्दा स्पोर्ट एजुकेसनलले ४३ मात्रै बनाउन सक्यो । प्रतियोगितामा मेश्रमका खुन्केन ठिंग उत्कृष्ट खेलाडी घोषित भए भने हाइ स्कोरमा स्पोर्ट एजुकेसनलका प्रशांग मास्के घोषित भएका थिए ।
उनले १९ प्वाइन्ट ल्याएका थिए । बास्केटबलको विजेताले ६० हजार र उपविजेताले ४० हजार रुपैयाँ प्राप्त गरे ।
भेट्रानतर्फ न्यु डाँफे युवा क्लब मेलाचेले प्रथम स्थान हासिल गरेको थियो भने सेन्चुरी युवा क्लबको टिमले द्वितीय स्थान हासिल गरेको थियो ।