नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’को नाता सम्बन्ध अब नेपालको कुलीन घराना मानिने राणा परिवारसँग गाँसिएको छ । उनकी छोरी कविता शर्माले चितवनका आलोकप्रताप राणासँग बिहे गरेपछि प्रभाकर अब राणा परिवारका सम्धी बनेका छन् ।
कविता र आलोकले अमेरिकामा बिहे गरेका छन् । बिहेमा दुवै परिवारका अभिभावक सहभागी भए । जनार्दन नेकपाको स्थायी कमिटीको बैठक छाडेर छोरीको बिहेमा सहभागी हुन अमेरिका पुगेका छन् ।
कविता-आलोक सम्बन्ध
कविता र आलोकको चिनजान कलेज पढ्दादेखि नै थियो । उनीहरुले ललितपुरको क्यारेबियन कलेजमा सँगै पढेका थिए । तर, पछि आलोक सातदोबाटो स्थित काठमाडौं विश्वविद्यालयको कलेजमा एमबीए पढ्न थाले ।
यसबीचमा कविताले एमबीबीएस पढ्ने भनेर त्यसको तयारी गर्न थालिन् । तर, सफल भइनन् । यसबाट कविताको एक वर्ष ‘लस’ भयो, जसले गर्दा सँगसँगैका सहपाठी कविताभन्दा आलोक एक वर्ष सिनियर हुन पुगे ।
राणा परिवारका निकट एक सदस्यले भने, ‘सिनियर-जुनियर जस्तो बनाउने काम दुवैका अभिभावकको योजनाअनुसार नै भएको हो ।
बिहे गर्दा केटीभन्दा केटो जेठो हुनुपर्ने नेपाली समाजका कतिपय व्यक्तिको सोचअनुसार यो काम भएको छ ।’त्यसपछि आलोक अमेरिकामा पढ्न भनेर टेक्सास गए ।
कविता पनि उतै लागिन् ।कलेज पढ्दादेखि नै कविता र आलोकको प्रेम सम्बन्ध थियो । यो कुरा दुवैका अभिभावकलाई थाहा थियो । उनीहरु एकअर्काको घरमा आउने-जाने गरिरहन्थे ।
आलोक र जनार्दनको नामबाट जन्मियो ‘एजे इन्टरनेशनल’
कविता र आलोक प्रेम सम्बन्धमा रमाइरहेका थिए । यो सम्बन्धमा अझ बढी रौनकता त त्यतिबेला थपियो, जतिबेला आलोक र जनार्दनको नामबाट एक कम्पनी खडा भयो ।
आलोकको अंग्रेजी नामको अगाडिको अक्षर ‘ए’ र जनार्दनको अगाडिको अक्षर ‘जे’लाई आपसमा जोडेर उनीहरुले ‘एजे इन्टरनेशनल प्रालि’ नामक इभेन्ट म्यानेजमेन्ट कम्पनी खोले । यसको नामबाट दशैं, होली लगायतका चाडमा सांगीतिक कार्यक्रमहरु आयोजना गरियो ।
इभेन्ट म्यानेजमेन्ट कम्पनी खुलेन मात्र, जनार्दन शर्माकी छोरी कविताले म्युजिक भिडियोमा मोडलिङ समेत गरिन् । तर, म्युजिक भिडियोमा खेल्न थालेपछि उनले आफ्नो वास्तविक नाम ‘कविता’लाई बदलेर ‘काव्यता’ राखिन् ।
अहिलेको उनको नाम फेसबुकमा पनि ‘काव्यता’ नै छ ।उनले अभिनय गरेको ‘कसरी बुझाउँ यो मन…’ बोलको म्युजिक भिडियो युट्युबमा हेर्न सकिन्छ ।