प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले २ अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको दाबी गरेका छन् ।
उनले भने, “प्रजातन्त्रको नमूना काम गर्ने हाम्रो पार्टी नै हो, दुई अध्यक्ष भएर राम्ररी पार्टी चलाएका छाँै, यतिको राम्रो उदाहरण संसारमा कहीँ देखिएको छैन ।” ठट्टाको शैलीमा प्रधानमन्त्री ओलीले भने, “संविधानले दिँदैन, नत्र २ जना मिलेर प्रधानमन्त्री भई देश पनि चलाउथ्यौं ।”
तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानुन व्यवसायी संगठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसनबीच एकीकरण गरी आइतबार नेपाल कानुन व्यवसायी संगठन घोषणा गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मुलुकमा गणतन्त्रलाई संस्थागत गर्न नचाहनेहरूले अनेक खालका प्रचार गरेको भन्दै उनले अकारण प्रचार युद्ध शुरु गरेको दाबी गरे ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई समृद्ध बनाउने अभियानमा कानुन व्यवसायीले काम गर्नुपर्नेमा जोड दिए । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचमा हुने कमी, कमजोरीलाई पूर्णता दिन पार्टीका कानून व्यवसायीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।
नयाँ गठन भएको नेपाल कानुन व्यवसायी सङ्गठनको संयोजक रुद्र नेपाल र सहसंयोजक डा दिनमणि पोखरेल छन् ।