पुरुष हाफ म्याराथनमा आर्मीको कब्जा, महिला दौडमा सरिता प्रथम

पाँचौ ग्रेट हिमालय पर्वतीय महोत्सवको दोस्रो दिन अन्तर्राष्ट्रिय पर्वतारोहण दिवसको अवसरमा आयोजित पुरुष हाफ म्याराथनमा नेपाली सेनाका धावकले आधिपत्य कायम गरेका छन् ।

नेपालगन्जमा आगामी माघको अन्तिम सातादेखि शुरु हुने आठौं राष्ट्रिय प्रतियोगिताको तयारीको लागि जुटेका नेपाली सेनाका धावक होमलाल श्रेष्ठले मंगलबार बैकुण्ठ मानन्धर गे्रट हिमालय पर्वतीय हाफ म्याराथनको उपाधि जितेका छन् । श्रेष्ठले २१ किलोमिटरको दुरीलाई १ घण्टा २१ मिनेट २६ सेकेण्डमा पुरा गर्दै उपाधि जित्दा नेपाली सेनाकै धावक कृष्ण बस्नेत भने १२ सेकेण्डले पछि पर्दै उपविजेतामा चिक्त बुझाए ।

बस्नेतले १ घण्टा २१ मिनेट ३८ सेकेण्डका समय लगाउँदै पुरा गरेका थिए । तेस्रो स्थानमा पनि नेपाली सेनाकै खगेन्द्र भाट आए । उनले दौडलाई १ घण्टा २२ मिनेट ५४ सेकेण्डमा पुरा गरेका थिए । महिला तर्फको १० किलोमिटर दौडमा सरिता बासी प्रथम भईन् । उनले दौड ३५ मिनेट ३२ सेकेण्डमा पुरा गरिन् ।

त्यसैगरी दोस्रो स्थानमा ३६ मिनेट ३२ सेकेण्डमा पुरा गर्दै रेशु बस्नेत र ३७ मिनेट ४३ सेकेण्डको समयमा पुरा गर्दै भूमी बुढामगर तेस्रो भईन् । महिला तर्फको प्रतिस्पर्धामा केवल ५ जना धाविका संलग्न थिए । पुरुष हाफ म्याराथनमा २४ जना धावकहरुको सहभागिता रहेको थियो ।

हाफ म्याराथन पुरुष विजेतालाई नगद ५० हजार रुपैयाँ प्रदान गरिएको छ । उपविजेताले २५ हजार र तेस्रो स्थानमा आउने धावकले भने १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । महिला तर्फको दौड विजेता धाविकाले २५, १५ र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

source : kheladinews.com