माओवादीको हेडक्वाटरमा शान्ति स्मारक

देशैभर संकटकाल, दिनदिनै हताहती, विदेशिने युवाको लाम, ग्रामीण क्षेत्र जति विद्रोहीको कब्जामा, शहरमा खुम्चिएको राजाको सरकार ।

विद्रोहको उत्कर्षताका यस्तो थियो देश । ७ दल र विद्रोही तत्कालीन माओवादीबीच सहकार्य भयो । ज्ञानेन्द्र शाह पछि हटे, संसदमा पुगे विद्रोही । मन्त्री, संसदमात्र बनेनन्, २ कमान्डरहरु त प्रधानमन्त्री नै भए ।

चुनाव चितेरै देशको सबैभन्दा ठूलो दल बन्यो माओवादी । कालान्तरमा शक्ति खुम्चिँदै तेस्रो भएको माओवादी फेरि पनि मुल धारमै आइपुग्यो । २ किनारामा उभिएका कम्युनिस्ट पार्टी एक भए । बन्यो नेकपा । त्यसैका अध्यक्ष छन् उ बेलाको माओवादी जनयुद्धका सर्वाेच्च कमान्डर प्रचण्ड ।

यो शान्ति प्रक्रियाको मात्र इतिवृत्त होइन, देशकै इतिहास हो । यसैको एउटा साक्षी हो कास्कीको सिक्लेस । उसो त कास्कीकै ढिकुपोखरी, लेवाडेमा जन्मिएका प्रचण्ड आमामी चुनाव यहीबाट लड्ने चर्चासमेत छ ।

२०६३ असार २ गते प्रचण्ड र डा. बाबुराम भट्टराई वालुवाटर प्रवेश गरेका थिए । सिक्लेसबाट सरकारी वार्ता टोली संयोजक कृष्ण सिटौलाले ल्याएको हेलिकोप्टरमा चढेर उनीहरु वालुवाटार गएको तरोताजा सम्झना छ सिक्लेसवासी सँग ।

त्यो बेला करिब १ हप्ता माओवादीको हेडक्वाटर सिक्लेसको एक्याप परिसरमा बसेको थियो । शान्तिको त्यही प्रस्थान विन्दु सम्झदै सिक्लेसमा बनेको छ शान्ति स्मारक ।

त्यो बेला करिब १ हप्ता माओवादीको हेडक्वाटर सिक्लेसको एक्याप परिसरमा बसेको थियो । शान्तिको त्यही प्रस्थान विन्दु सम्झदै सिक्लेसमा बनेको छ शान्ति स्मारक । त्यही शान्ति स्मारक उद्घाटन गर्न मंसिर २४ गते सिक्लेस पुग्दैछन् प्रचण्ड र सिटौला । माओवादीबाट बाहिरिएर नयाँ शक्ति गठन गरेका डा. बाबुराम भट्टराई भने समारोहमा हुने छैनन ।

सिक्लेस अहिले मादी गाउँपालिकामा पर्छ । घुमक्कड नेपाली र थोरै पर्यटक पुग्ने सिक्लेसबाट शान्ति प्रक्रियाको नमुना संसारलाई देखाउने धोको छ गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ श्यामको । उनी भन्छन्, ‘सिक्लेसलाई शान्ति प्रक्रियाको उद्गमस्थलका रुपमा चिनाएर फरक खालका पर्यटक भित्र्याउने योजना छ ।’

प्रचण्ड यसपालि हेलिकोप्टरमा सिक्लेस जाने छैनन् । विजयपुरमा बनेको पक्की पुल उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित उनीहरु सडकबाटै सिक्लेस पुग्नेछन् । अध्यक्ष श्याम भन्छन्, ‘यो क्षेत्रका जनताको मुख्य आवश्यकता सडक हो । उ बेला उहाँहरुले दिनुभएको आश्वासन जनताले भुलेका छैनन् । उहाँको पहलमा सडक पक्का बन्ने सपना देखेका छौं ।’

वालुवाटार उड्ने बेला विद्रोही कमान्डर प्रचण्डले सिक्लेसलाई स्विटरल्यान्ड बनाइदिने आश्वासन दिएका थिए । सक्लेसले समाज रुपान्तरण गर्दै समृद्ध नेपाल बनाउन प्रेरणा दिने बताउँछन् श्याम । उनी थप्छन्, ‘यसले नयाँ पुस्तालाई इतिहासको आलोचनात्मक समीक्षा गर्न झक्झक्याउनेछ ।’

एक्याप परिसरमा बनेको स्मारकका लागि १५ लाख जति खर्च भएको छ । ठूलो रकम गाउँपालिकाको भए पनि यहाँले स्थानीयले पनि स्मारकमा योगदान मिसाएका छन् । बगैंचासहितको यो स्मारक करिब ३ महिनामा बनाइएको हो ।

कास्कीको सुन्दर गाउँ सिक्लेसको स्मारक बनाउन आइपुगेका छन् पूर्वेली कलाकार नारदमुनि हार्तुमछाली । स्मारकले करिब २० वटा भाव दिने जनाइएको छ । मादी गाउँपालिकाले बिहीबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष श्यामले स्मारक कस्तो छ भन्ने पत्रकारको प्रश्नको उत्तर शब्दमा दिएनन् । उनले भने, ‘स्मारकले धेरै भाव दिन्छ । गृहयुद्ध कालका मुख्य घटना र शान्ति प्रक्रियाका धेरै घटनाक्रम सम्झाउँछ ।’

प्रदेश सांसद मनबहादुर गुरुङले देशकै प्रमुख पार्टीका प्रमुख नेता आउँदा सिक्लेसवासीका अनेक अपेक्षा गरेको बताए । उनले पदयात्रा पर्यटनलाई जोगाउँदै सिक्लेसभन्दा माथि बाटो नलैजाने उनले उल्लेख गरे । उनले भने, ‘सिक्लेसम्मको बाटोचाहिँ राम्रो बनाउनैपर्छ ।’