रानीमहल सिंगार्दै प्रदेश ५

नेपालको ताज महल भनेर चिनिने पाल्पाको रानीमहललाई थप आकर्षक बनाउन यसको पूर्वाधारमा लगानी गर्न थालिएको छ । पुरातात्विक महत्वको रानीमहलको स्वरुप वातावरणमैत्री इको पार्क बनाउन प्रदेश नं ५ को सरकारले नयाँ योजना ल्याएको छ ।

प्रदेश ५ को पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले २० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारका वातावरणमन्त्री लीला गिरीले बताए । उनले रानीमहललाई प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने भएर चासो देखाइएको बताए ।

यस वर्षभित्र नै पार्कको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा पर्यटनलाई थप प्राथमिकता दिइने मन्त्री गिरीले जानकारी दिए ।

महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । दरबारको मूलढोकाबाट कुँदिएको ढुंगा र इँटाबाट बनाइएका खुड्किला सिधै कालीगण्डकी नदी कुण्डमा जोडिएको छ ।

रानीमहल क्षेत्रको पर्यटकीय सम्भाव्यता र सडक पूर्वाधारबारे मन्त्री गिरीसहित भौतिक पूर्वाधार विकासमन्त्री तथा प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरी, प्रदेशसभाअन्तर्गतको उद्योग पर्यटन विकास समिति सभापति दधिराम न्यौपाने, प्रदेशसभा सदस्य चेतनारायण आचार्य, नारायण आचार्य, वीरबहादुर राना, पाल्पा जिल्ला समन्वय समितिका सभापति दयाराज बस्याललगायत स्याङ्जाका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिको टोलीले स्थलगत अवलोकन गरी सम्भावनाका बारेमा अध्ययनसमेत गरेको छ ।

पाल्पा सदरमुकाम तानसेनबाट करिब १४ किलोमिटर दूरीको सडकमध्ये ५ किमी कालोपत्रे हुन बाँकी छ । कालीगण्डकी करिडोरतर्फ ७ सय मिटर दूरीको चट्टानले रानीमहल पुग्ने बाटोमा अवरोध गरेको छ ।

यस्तै रानीमहललाई स्याङ्जासँग जोड्ने पक्की पुलको पाल्पातर्फको काम पनि पूरा भएको छैन । तत्कालीन जनरल खड्ग शमशेरले पत्नी तेजकुमारीको सम्झनामा कालीगण्डकीको तटमै जग हालेर विशाल रानीमहल बनाएको बताइन्छ ।

कालीगण्डकी नदी किनारमा पत्थरबाट ठड्याएर उक्त दरबार बनाइएको छ । दरबारको एकातर्फ बुर्जाको जग कालीगण्डकी नदीमा नै रहेको र महलभित्र पानीपोखरी, मन्दिर, बगैंचा आदि रहेका छन् । दरबार ५६ फिट चौडा, १ सय १२ फिट उचाइ भएको चारतले भवन विसं १९५० मा शिलान्यास भई ४ वर्षमा दरबार, मन्दिर र पाटीपौवासहितको निर्माणकार्य पूरा भएको बताइन्छ ।

महल जीर्ण भएपछि विसं २०७२ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पुरातत्व विभागले २ करोड ७२ लाख ३७ हजार २ सय ४७ लागतमा रानीमहलको पुनःनिर्माण गरेको थियो ।

रानीमहल दरबारको बायाँतर्फ शित्तलपाटी दरबार परिसरमा फोहोराका लागि कुँदिएका ढुङ्गाले निर्मित २ वटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमका शिव र गंगाका २ मन्दिर छन् ।

उक्त महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो । दरबारको मूलढोकाबाट कुँदिएको ढुंगा र इँटाबाट बनाइएका खुड्किला सिधै कालीगण्डकी नदी कुण्डमा जोडिएको छ ।

प्रसिद्ध मुक्तिनाथ तीर्थ जाने मुख्यद्वार भएकाले तीर्थालुलाई बस्ने सुविधासहितका पौवासमेत निर्माण गरिएका छन् ।

दिवंगत रानीको सम्झनामा बनाइएकाले रानीमहल दरबारलाई प्रेमको प्रतीकका रूपमा लिने गरिएको छ । पछिल्ला केही वर्षयता उक्त रानीमहलमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको छ ।