सिन्धुलीको क्षेत्र नं २ मा नेकपा उम्मेदवार लेखनाथ दाहालविरुद्ध जिल्ला पार्टीले विद्रोह गरेको छ ।
जिल्ला पार्टीको निर्णय अनुसार केही समय अगाडि नेकपा नेता तथा पत्रकार महेश्वर दाहालले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीका जिल्ला नेताहरूको उपस्थितिमा महेश्वरले उम्मेदवारी दर्ता गराएका हुन् । नेताहरू हरिबोल गजुरेल, वसन्त माझी, पनीराज बम्जन, विनोद विकसहित महेश्वरको साथमा थिए ।
जिल्ला उमेदवार सिफारिश कार्यदलको निर्णय विपरीत पार्टी केन्द्रले लेखनाथ दाहाललाई टिकट वितरण गरेपछि जिल्ला पार्टीले महेश्वरलाई आफ्नो आधिकारिक उम्मेदवार बनाएको हो ।
माओवादी जनयुद्धमा संलग्न दाहाल तत्कालीन क्रान्तिकारी पत्रकार संघका संस्थापक अध्यक्ष हुन् । पहिलो संविधान सभा निर्वाचनमा पनि सिन्धुलीमा माओवादीमा विद्रोही उम्मेदवारले जितेका थिए ।
साविक नेकपा (माओवादी)ले नेता लीलामणि पोखरेललाई सिन्धुली ३ मा सघाउने गरी उम्मेदवारी निक्रिय बनाउन निर्देशन दिए पनि निरु दर्लामीले त्यसलाई पालना गरेकी थिइनन् । निर्वाचनमा दर्लामी निर्वाचित भएकी थिइन् । उनी अहिले एमालेमा छिन् ।




