कांग्रेस ओखलढुंगाबाट कुमार लुइँटेल उम्मेदवार

नेपाली कांग्रेसको संसदीय बोर्डले ओखलढुंगामा नेता कुमार लुइँटेललाई प्रतिनिधिसभा सदस्यको टिकट दिएको छ । सुनकोशी गाउँपालिका वडा नम्बर १ का बासिन्दा लुइँटेल मनोनयन दर्ता गराउन जाने तयारीमा छन् ।

नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समिति सदस्य लुइँटेल विज्ञानमा स्नातकोत्तर हुन् । उनले लामो समय जिल्ला र जिल्लाबासीसँगको सहकार्य र ओखलढुंगाबासीको प्रेम नै आफ्नो जितका आधार भएको बताए ।

प्रतिनिधिसभामा एकमात्र क्षेत्र रहेको ओखलढुंगामा गएको निर्वाचनामा कांग्रेसकै रामहरि खतिवडा निर्वाचित भएका थिए । यसअघि दुई निर्वाचनमा जित र २०७४ मा पराजित भएका खतिवडा यसपालि पनि टिकटका प्रबल दाबेदार थिए ।

जिल्लामा लुइँटेलको प्रतिस्पर्धा अब नेकपाका उम्मेदवार रामकुमार कार्की, एमालेकी उम्मेदवार अस्मिता थापा र रास्वपाका उम्मेदवार विश्वराज पोखरेलसँग हुने भएको छ । एमालेले ओखलढुंगामा लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

जिल्लाबाट सिफारिसमै नपरेकी थापालाई उम्मेदवार बनाएपछि एमाले जिल्ला कार्यालयमा तालाबन्दी छ भने अध्यक्ष जिबी खड्कासहितका अधिकांश जिल्ला नेताहरु विरोधमा छन् ।