बागलुङमा नेकपा–जनमोर्चा गठबन्धन

फागुन २१ गतेका निम्ति तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन हुने भएको छ ।

नेकपाका केन्द्रीय कार्यालयका तर्फबाट गणेशमान पुन र जनमोर्चाका केन्द्रीय सचिव घनश्याम न्यौपानेले सोमबार एकअर्कालाई सहयोग गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

२ प्रतिनिधिसभा क्षेत्र रहेको बागलुङ १ मा नेकपाले कृष्ण केसी र २ मा यामनाथ गैह्रे (अनिल)लाई उम्मेदवार बनाएको छ । जनमोर्चाले १ मा कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको थियो भने २ मा उमेदवार टुंगो लगाइसकेको थिएन । नेकपाले १ मा कृष्ण केसीलाई टिकट दिएको थियो ।

अब क्षेत्र नम्बर १ मा जनमोर्चाका कृष्ण अधिकारी र क्षेत्र नम्बर २ मा नेकपाका गैरेले मात्र मनोनयन दर्ता गर्ने छन् । १ नम्बर क्षेत्रबाट जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी चुनाव लड्दै आएका थिए । उनको नाम यसपटक समानुपातिकमा छ ।

बागलुङ २ मा गएको निर्वाचनमा साविक नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेल निर्वाचित भएका थिए । पौडेल यसपटक नवलपरास पश्चिमको क्षेत्र नम्बर २ बाट नेकपा उम्मेदवार छन् ।