एमालेमा टिकट वितरणः ईश्वर टिमका धेरैको हात रित्तै

एमालेको शनिबार भएको सचिवालय बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवार छान्यो । एमालेको ११ औं महाधिवेशनमा नेता ईश्वर पोखरेल समूहबाट अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गरेका अधिकांश नेताले यो पटक टिकट पाएका छैनन् ।

ओलीको टिमसँग प्रतिस्पर्धा गरेका अधिकांश नेताको टिकट यकिन नगरी अध्यक्षलाई अधिकार दिइएको छ । ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेलकै टिकट यकिन भएको छैन ।

काठमाडौं ५ बाट चुनाव उठ्दै आएका ईश्वरको क्षेत्रमा उम्मेदवार तोक्न बाँकी छ । एमालेले ईश्वर समूहका गोकुल बास्कोटा, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र विनोद ढकालको क्षेत्रमा पनि टिकट यकिन गरेको छैन ।

मोरङको ५ र ६ लाई एमालेले होल्डमा राखेको छ। काठमाडौं ४ र काठमाडौं ९ मा पनि टिकट फिक्स गरिएको छैन । काठमाडौै ९ क्षेत्र कृष्णगोपाल श्रेष्ठको हो। श्रेष्ठ अहिले ईश्वर पोखरेल निकट मानिन्छन्।

एमालेले झापा ३ पनि खाली राखेको छ । यहाँ राप्रपासँग तालमेलका सम्भावना देखेर खाली राखिएको हो । यो क्षेत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई सघाएर झापा ५ मा राप्रपाको साथ पाउने ओलीको रणनीति देखिन्छ ।

झापा ४ बाट २०७४ र २०७९ मा दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित एलपी सावाले पनि यसपालि टिकट पाएनन् भने झापा ४ बाट यस पटक केन्द्रीय सदस्य बनेका मनोज ताम्लीले टिकट पाएका छन्।

ओलीले ताप्लेजुङमा उपमहासचिव योगेश भट्टराईलाई टिकट दिन ओलीले अस्वीकार नै गरेका छन् भने काभ्रे २ अध्यक्ष ओलीले टुंग्याउने भनिएको छ । नेता गोकुल बास्कोट ०७९ को निर्वाचनमा उक्त क्षेत्रबाट जितेका थिए । उनी महाधिवेशनमा पोखरेल समूहबाट सचिव पदमा चुनाव लडेका थिए ।

उमेदवार छनोटप्रति उपमहासचिव भट्टराईले असहमति जनाएका छन् । शनिबारकोे सचिवालय बैठकमा उनले तीनबुँदे ‘नोट अफ डिसेन्ट’ राखेका हुन् ।

भट्टराईले सामाजिक सञ्जालमा उमेदवार छनोटको निर्णय सुनेर विचलित नहुन अनुरोध समेत गरेका छन् । उच्च मनोबल र एकताका साथ एमालेका उमेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गरे ।

“नेकपा एमालेका प्रिय कमरेडहरू निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु,” उनले लेखेका छन्, “अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उमेदवारहरूलाई विजयी बनाऊन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गर्दछु । हाम्रो यात्रा लामो र गौरवपूर्ण छ ।”

निर्वाचनका लागि यही माघ ६ गते उमेदवारी दर्ता हुँदैछ । ओलीले चुनावी टिकटमा एकलौटी गरेको र अर्को पक्षलाई वेवास्ता गरेको भन्दै आलोचना समेत सुरु भएको छ ।