नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र न १ बाट राजकाजी गुरुङ (करण)लाई उम्मेदवार बनाउने भएको छ ।
फागुन २१ गतेको चुनावका लागि नेकपाले करणलाई टिकट दिएको हो । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले उनलाई टिकट दिएका हुन् ।
गुरुङ २०६४ को संविधानसभा निर्वाचनमा कास्की क्षेत्र नं २ बाट विजयी भएका थिए । नेकपाको केन्द्रीय सदस्य समेत रहेका गुरुङले केही समय अर्थमन्त्रालयमा राजनीतिक सल्लाहकार भएरसमेत काम गरेका थिए ।
कास्की १ मा नेकपा एमालेले पार्टी जिल्ला अध्यक्षसमेत रहेका बैनबहादुर अधिकारी क्षेत्रीलाई टिकट दिएको छ । यहाँ नेपाली कांग्रेसबाट भने उम्मेदवार टुगिंन बाँकी छ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता यही माघ ६ गतेका लागि तोकिएको छ ।




