जेनजी आन्दोलनमा ध्वस्त गण्डकी प्रदेशसभा माटेपानी सारियो

जेनजी आन्दोलनका क्रममा भवन ध्वस्त भएपछि भवनविहीन गण्डकी प्रदेशसभा सचिवालय पोखरा–१२, माटेपानी सारिएको छ । पोखरा–३, नदीपुरमा रहेको प्रदेशसभा सचिवालय, सभाहल, दलका कार्यालय र सवारीहरुसमेत आन्दोलनका क्रममा ध्वस्त भएका थिए ।

२०७५ साल भदौमा निर्माण सम्पन्न भएको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको भवनमा प्रदेशसभा सचिवालय सारिएको हो । प्रदेश सरकारले प्रशासनिक पुनर्संरचनाका क्रममा निर्देशनालय खारेज गरेपछि भवन खाली थियो । त्यही भवनमा सचिवालय सञ्चालन गरिएको सभामुख कृष्णप्रसाद धितालले बताउनुभयो ।

मङ्सिर अन्तिम साता सचिवालय सारिए पनि सभाहल बनिसकेको छैन । निर्देशनालयको साढे दुई तले भवनमा सभामुख, उपसभामुख, प्रदेशसभा सचिव र कर्मचारीहरुको व्यवस्थापन भएको छ । सभामुख धिताल भन्नुहुन्छ, “व्यवस्थापन मिलाउँदै छौँ, हल साँघुरो छ । संसदीय समितिका बैठक भने बस्न मिल्छ ।”

नदीपुरमा प्रदेशसभा भवन बन्न अझै कम्तीमा दुई वर्ष लाग्ने देखिन्छ । दलहरुको संसदीय दलका कार्यालय र संसदीय समितिका कार्यालयका लागि अस्थायी प्रकृतिका भवन बनाउनेबारे छलफल भइरहेको छ । सभामुख, उपसभामुखलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता र सचेतकले फिर्ता गरेका गाडी दिइएको छ । जेनजी आन्दोलनका बेला राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङ र सचेतक विन्दु पौडेलले राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।

आन्दोलनकै समयमा भदौ २३ गते प्रदेशसभा सचिवमा गोविन्द नियुक्त हुनुभएको थियो । त्यस बेला भदौ २५ गतेका लागि तय गरिएको प्रदेश सभाको बैठक अनिश्चित कालका लागि स्थगित भएको थियो । अबको प्रदेशसभा बैठक त्यही बस्ने गरी तयारी भएको सचिवालयका सूचना अधिकारी शशिधर सुवेदीले बताउनुभयो ।

भवन ध्वस्त भएपछि भदौ २५ गते स्थगित भएको प्रदेशसभा बैठक कात्तिक २४ गतेबाट ३ दिनसम्म पोखरा–५, मालेपाटनको कृषि विकास निर्देशनालयको हलमा बसेको थियो । बैठकका लागि कृषि विकास निर्देशनालयकै सामग्रीहरु प्रयोग गरिएकोमा नयाँ हलका लागि भने धेरै सामग्री किन्नुपर्ने अवस्था छ ।

स्थापनादेखि आठ वर्षसम्म गण्डकी प्रदेशसभा नगर विकास प्रशिक्षण केन्द्रको साढे चार दशकअघि बनेको पुरानो भवनमा चलेको थियो । जेनजी आन्दोलनका क्रममा ध्वस्त ध्वस्त भएको त्यही कार्यालयको पश्चिमतर्फ २५ करोड ३७ लाख ८२ हजार आठ सय ६१ रुपैयाँ लागतमा सुविधा सम्पन्न गण्डकी प्रदेशसभा भवन बन्दै छ ।
तीन वर्षभित्र निर्माण सक्ने गरी भवन निर्माणको जिम्मा श्रेष्ठ एन्ड सन्स÷इस्ट वेस्ट जेभी काठमाडौंले पाएको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।