नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गिरीले सेवा प्रवेश र बढुवाका लागि पेस गरेको माध्यमिक शिक्षा उत्तीर्ण (एसएलसी) को प्रमाणपत्र नक्कली रहेको ठहर गर्दै मंगलबार मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार गिरीले सन् १९८८ मा भारतको बिहार स्कुल एक्जामिनेसन बोर्ड, पटनाबाट एसएलसी उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको मार्कसिट पेस गरेका थिए । उनले पेस गरेको मार्कसिटमा रोल कोड ५५०१ र रोल नम्बर ७१८ उल्लेख भए पनि बिहार विद्यालय परीक्षा समिति, पटनाले पठाएको पत्रमा ‘अभिलेखमा अन्तिम क्रमाङ्क ५७६ सम्म मात्र छापिएको छ’ भन्ने व्यहोरा उल्लेख भएर आएको छ ।
छानविनका क्रममा सो रोल नम्बरको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएपछि अख्तियारले कारबाही प्रक्रिया अगाडि बढाएको हो । गिरीले सोही नक्कली प्रमाणपत्रका आधारमा २०५० सालमा त्रिभुवन विश्वविद्यालयबाट नर्सिङमा पीसीएल र २०६३ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट पोस्ट बेसिक ब्याचलर इन नर्सिङको शैक्षिक योग्यतासमेत हासिल गरेका थिए ।
उनले तिनै झुट्टा शैक्षिक प्रमाणपत्र पेस गरी १६ पुस २०५२ मा नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (प्राविधिक) पदमा सुरु नियुक्ति लिएका थिए । सोही आधारमा उनले हालको एसएसपी पदसम्म बढुवा पाएको र विभिन्न तालिम तथा सरकारी सेवा सुविधाहरु लिएको देखिएको अख्तियारले जनाएको छ ।
अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार गिरीले नेपाल प्रहरीको पदमा नियुक्ति भई ओहोदा, लाभ र सुविधा प्राप्त गरी भ्रष्टाचार निवारण ऐनको बर्खिलाप हुने कसुर गरेका छन् । उनलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा २ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको सजाय मागदाबी गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।
सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीले नक्कली प्रमाणपत्र पेस गरेको उजुरीका आधारमा अनुसन्धान गर्दा यस्तो तथ्य फेला परेको अख्तियारले उल्लेख गरेको छ ।




