बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापछि रवि लामिछाने धरौटीमा छुटेको पर्सिपल्ट छविलाल जोशी पनि धरौटीमा रिहा भएका छन्।
नेपाल प्रहरीका पूर्वडिआइजी जोशी सहकारीको रकम ठगी र संगठित अपराध मुद्दामा लामिछानेसँगै थुनामा थिए।
उच्च अदालत तुलसीपुर बुटवल इजलासले रविलाई शुक्रबार धरौटी र बिगोबापत उनको भागमा पर्ने जमानत लिएर छोड्न आदेश गरेको थियो। छविको हकमा निवेदन दिएपछि मात्रै पुनः विचार गर्न सकिने भन्दै उक्त मुद्दा जिल्ला अदालत रुपन्देहीमै पठाइदिएको थियो।
सोही मुद्दामा उनको पक्षबाट शुक्रबार नै निवेदन दिइएकामा आइतबारको बहसपछि उनी रिहा भएका हुन्। रूपन्देही जिल्ला अदालतले सोही आदेशको आधारमा छविले एकमुष्ट तीन करोड रूपैयाँ बैंक जमानत बुझाएपछि आइतबार रिहा गरिएको जनाएको छ।
जिल्ला अदालत रूपन्देहीका सूचना अधिकारी पदम अर्यालले उच्चको आदेश अनुसार छविले शुक्रबार निवेदन दिएको र आइतबारको इजलासले जमानत बुझाएर छाड्ने आदेश दिएसँगै बैंक ग्यारेन्टी बुझाएर रिहा भएको बताए।
यसअघि जिल्ला अदालतले रविलाई एक करोड रूपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश गर्दा छविलाई भने थुनामै राख्ने आदेश गरेको थियो।
जिल्लाको उक्त आदेश विरूद्ध उच्च अदालत बुटवल इजलास गएका छविलाई उच्चले जिल्लाकै आदेश सदर गर्दै थुनामा पठाउने आदेश गरेको थियो। सर्वोच्चले पनि जिल्ला र उच्चको आदेश नै सदर गरेको थियो।
उच्चले जिल्लाको आदेश बदर गर्दै उनीहरुलाई थुनामुक्त भएर मुद्दा लड्ने बाटो खोलिदिएको हो।




