
पछिल्ला दिनको वर्षापछि यसपालि बल्ल देशभर वसन्त ऋतुको आभास भएको छ । आकासको तुँवालो फारिएको छ, रुखहरु हरिया बन्दै छन्, पालुवा अङ्कुराउँदै छन् । यही वसन्ती यामकै नामको नेपाल चलचित्र पनि अहिले दर्शकसम्म पुग्ने संयोग जुरेको छ ।

चलचित्रमा सपूतसँगै स्वस्तिमा खड्का, प्रभातपाल ठकुरी, खड्कबहादुर पुन (खबपु), प्रकाश घिमिरे, विशाल पहारी लगायतको अभिनय छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति वसन्तले समानान्तर रुपमा दुई जोडीको अन्तर्जातीय प्रेम प्रस्तुत गरेको छ । बागलुङ जिल्लाको एक ग्रामीण गाउँको समाज दर्साउने चलचित्र नेपाली सङ्गीतमा पृथक पहिचान बनाएका प्रकाश सपूतमा केन्द्रीत छ ।
कथा÷सङ्गीत र निर्देशन प्रकाश सपूतको रहेको यो चलचित्र गएको चैत २२ बाट प्रदर्शनमा छ । जातीय उत्पीडन, गरिबी, अन्याय र असमानतालाई चित्रण गरी परिवर्तनका लागि झक्झक्याउने यो चलचित्रको प्रभाव भने ऋतुराज वसन्तझै आशालाग्दो देखिएको छैन । साढे दुई घन्टाको चलचित्र प्रकाश सपूतवरिपरि नै घुमेको छ ।
गाउँको बिहान खाए, बेलुका के खाऊँ भन्ने समस्याले ग्रस्त विश्वकर्माको छोराको लेखक बन्ने सपना चलचित्रमा छ । भविष्यको खाका कोर्ने, समाज परिवर्तनका लागि सङ्घर्ष गर्ने कथा प्रस्तुत गर्न ९÷१० कक्षामा पढ्ने विद्यार्थी र स्कुललाई माध्यम बनाइएको छ । यहाँका पात्रहरुले प्रयोग गरेका संवाद दर्शकलाई बुझ्न त कठिन छ नै, विद्यार्थी वयमा प्रयोग गर्दा अस्वभाविक सुनिन्छ ।
आर्थिक समस्याकै कारण आफैं पढ्ने विद्यालयको कार्यालय सहायक बन्ने पात्रदेखि बाको उपचार गर्न मजदुरी गर्न जानुपर्दा पढ्न नपाउने दुःखीहरु पनि यहाँ छन् । विद्यालयमा हाकाहाकी दलितको छोरो कार्यालय सहायक भए छोएको कसरी खानू भन्ने शिक्षकको मनस्थितिले छुवाछुत उस्तै रहेको दर्साउँछ । ब्राह्मण परिवारकी शान्ति शर्माको भूमिकामा हुनुहुन्छ नायिका स्वस्तिमा खड्का ।
विद्यालय उमेरमै प्रेम, शारीरिक सम्बन्धपछि प्रेमिकालाई गर्भवती अवस्था छाडेर सहर भास्सिएको पात्र वसन्तपछि आफ्नै गाउँलेबाट पनि ठगिएको देखाइएको छ । प्रेमीले शारीरिक सम्बन्धपछि बिनाखबर छाड्दा माओवादी ‘जनयुद्ध’मा समावेश भएकी नायिकाको सङ्घर्ष र प्रेमी वसन्तलाई गरेको क्षमाको विषय चलचित्रमा ओझेलमा छ । वसन्तको एउटा पुस्तक प्रकाशन भएपछिको खुसीसँगै चलचित्र सकिन्छ । चलचित्रकै कथामा रहेको मुख्य विषयबाट बहकिएर भावुकताको शिकार भएको देखिन्छ ।
अन्तर्जातीय प्रेममा रहेका दुई साथीले आत्महत्यापछि वसन्तलाई त्यसमा दोषी भएको आरोप लाग्छ । एउटा निर्दोष युवक हिरासतमा रहँदा त्यसलाई राजनीतिक मसला बनाएर प्रयोग गर्न भएका प्रयत्न र आफ्नो समाजमा घटना भएपछि सुटुक्क राजधानी भाग्ने दलित नेताको आचरणले दलित आन्दोलनको निर्मम समीक्षा जरुरी भएको दर्साउँछ । चलचित्रमा माओवादीको विद्रोहबारे कडा टिप्पणी गरिएको छ ।
मुख्य पात्र वसन्त भन्छन्, “जब तपाईंहरू हतियार बिसाउनुहुन्छ–भोलि मन्दिरमा उनै पुजारी हुनेछन्, जो हिजो थिए । शासक उनै हुनेछन्, जो हिजो थिए…।” वसन्त पहाडको एक दुर्गम गाउँको समाजलाई चिहाउने आँखीझ्याल बनेको छ, भलै आँखीझ्यालबाट परसम्म नियाल्न तुवाँलो फारिने प्रतीक्षा गर्नुपरोस् ।