बालिका र महिलालाई यौनधन्दामा लगाउने ३ पक्राउ

कास्की प्रहरीले मानव वेचविखन तथा ओसार पसार मुद्दामा ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पोखरा–८, जाल्पारोडको एक होटलबाट पोखरा–९, पृथ्वीचोक बस्ने वर्ष २९ का प्रविन गुरुङ, पर्वत घर भई काठमाडौं, शंखमुल बस्ने वर्ष २३ का निर्मल मल्ल र पोखरा–१७, बिरौटा बस्ने वर्ष २६ का राजेश ठकुरीलाई बिहीबार पक्राउ गरेको हो ।

उनीहरुलाई मानव वेचविखन तथा ओसारपसारसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । पोखरा–८, जाल्पारोड स्थित रहेको काभ्रेली खाजा घरका सञ्चालकले बालिका तथा महिलालाई होटलमा राम्रो काम लगाईदिन्छु भनी सुरुमा सरसफाइको काम लगाई पछि विभिन्न लोभलालच, प्रलोभनमा पारी पोखराका विभिन्न होटलमा पठाई यौन शोषण गरेको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले बिहीबार राति १० बजेतिर पर्वत खाजाघरबाट महिलालाई बाहिर लैजान लागेको अवस्थामा एक बालिका र दुई महिलालाई उद्धार गरेको छ ।