मर्दी पदमार्गमा पर्यटक सम्पर्कविहीन, व्यवसायीले भत्काए पालिकाको सर्भिस डेस्क

कास्कीको माछापुच्छ«े गाउँपालिकामा पर्ने मर्दी पदमार्गमा एक स्वीडेनी नागरिक सम्पर्कविहीन बनेका छन् । मर्दी हाइ क्याम्पबाट शनिबार बिहान ४ बजेतिर बेस क्याम्प हिडेका २२ वर्षीय माइकल लिउ फर्किएका छैनन् ।

उनी हाइक्याम्पको होटल म्याजिक माउन्टेनमा बास बसेका थिए । भ्यु प्वाइन्ट हुँदै बेस क्याम्प पुग्न चारदेखि पाँच घन्टा लाग्छ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष राम गुरुङले प्रहरी र पालिका दुवैले माइकलको खोजी गरिरहेको जनाए ।

शनिबार बिहान झोला होटलमै छोडेर टर्च लाइट र बोतलमा पानी लिएर उनी निस्एिका थिए । पालिकाले पनि सो क्षेत्रका जानकार स्थानीय दानबहादुर पौडेललाई खोजीका लागि खटाएको छ । माइकल सम्पर्कविहीन भएकोबारे स्विडेनी दुतावासलाई समेत जानकारी गराइसकिएको छ ।

यता, हाइक्याम्पका होटल व्यवसायीले गाउँपालिकाले राखेको टुरिस्ट सर्भिस डेस्क भत्काइदिएका छन् । होटल व्यवसायीहरु पूर्णबहादुर गुरुङ, रुमबहादुर गुरुङ लगायतले डेस्क भत्काएको वडाध्यक्ष गुरुङले बताए ।

घटनापछि गाउँपालिकाले मङ्गलबार आकस्मिक बैठक बोलाएको छ । पालिकाका प्रवक्ता गणेश आचार्यले केही व्यवसायीले डेस्क भत्काएर त्यहाँ जम्मा भएको रकम र रसिदसमेत लगेको जानकारी दिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।