कथा: धनीमानी

–‘साली !’
–‘हजोर भिनाजु’
–‘सन्चै छेउ ?’
–‘सन्चै भन्नुप¥यो ।’
–‘भैसी ब्ल्यायो कि ब्ल्याएन ? भरे भोलि भएको छ भन्थेउ ।’
–‘आज चार दिन भयो ब्याएको ।’
–‘ल बित्याँस खाएछ, छ सात दिन नआउँदा ।’
– ‘किन र भिनाजु ?’
–‘व्याउती खान पाइएन क्यारे नि ! अब दुध फाट्न छाडिहाल्यो होला, कि ब्याउती बनाएकी छेउ । बनाएको भए ल्याउ क्यारे खाम ।’
–‘फटाल्न नै सकिदैन, कहाँ ब्याउती हुनु,’ दाउरा छैनन् । त्यसैले हाम्ले त दुध नै खान थालेका छौ । दुध विना टुटेका केटाकेटी दुधै खाउन जस्तो पनि लाग्यो ।’
–‘त्यही व्याउती दुध खान पाए नि भयो नि ।’
–‘अहिले त चिया पकाउन राखेको दुध मात्र छ ।’
–‘चिया नै पकाउन त खाउ ।’

दधिराम वस्नेत । खत्रीकी छोरी विहा गरेको हुनाले म उसकी साली हुँ रे । कत्ति निको लाग्दैन । जम्काभेट भएर मात्र हो, डहरमा आएको देखेको भए पनि घर छोडेर हिँड्थे । ख्याल सताएका छन यिनले ।

सायद दुध नभएर होला, मैले धेरै दिनसम्म चिया पकाएर खुवाउनु परेको थिएन । अहिले भैसी ल्यायो होला भनेर आएका होलान । निश्चित छ, उनी अब आइरहन्छन् । पटक्क लाजशर्मा छैन, लोग्नेमान्छे भएर पनि कति चिल्लो घस्न जानेको, कति मागेर खान लाज नमानेको ।

उसलाई भने सम्मो छ, हाम्रो उकालो ओरालो जीवनको केही भतलव र पर्वाह छैन । मागेर खान पाए भयो, स्वाद पारेर पेट भर्न पाए भयो ।

जेहोस मैले चिया पकाएर दिन्छु । एक सुर्पी लाउने बित्तिकै भन्छन् ‘साहै मिठो चिया खुवाउछेउ र त आइरहन मन लाग्छ । अब मेरो घरमा चिया खान ट्टयो । अवदेखि विहान विहान सालीको हात को चिया खान आइन्छ ।’

कस्तो लाजमर्दाे, आफूलाई कति दुःख छ । कति अभाव छ । उसलाई भने सम्मो छ, हाम्रो उकालो ओरालो जीवनको केही भतलव र पर्वाह छैन । मागेर खान पाए भयो, स्वाद पारेर पेट भर्न पाए भयो ।

मलाई त अचम्म लाग्छ, गाँठे यति सम्पन्न मान्छे छ । उसको घरको आर्थीक हैसियत देख्दा जो कोहीले पनि उसको दिनहीन आचरणको कल्पना गर्न सक्दैनन् । पाच वटा छोरा, चार वटी छोरी सबै सफल जीवन विना एक छन् । अकुत सम्पत्ति कमाएका छन् । जेठो छोरो उपसचिव छ । माहिलो छोरो नेपाली आर्मीको कर्णेल छ । साइलो छोरो डाक्टर मैकन अमेरिकामा कार्यरत छ । ठूलो कान्छो प्रोफेसर छ । कान्छो छोरो ब्रिटिस लाहुरे छ । अझ जेठा छोराका दुई छोराहरु डाक्टर र इन्जिनियर छन् । अन्य नाति नातिनीहरु प्नि कोही पढाई सकेर आ–आफ्नो क्षेत्र ओगटेका छन् ।

छोरीहरु तर्फ जेठी छोरी स्टुडेण्ट भिषामा अष्टे«लिया गएकी पिआर पाइसकेकी छ । माहिली छोरीको पोखरामा होलसेलपसल छ । कान्छी छोरी फिल्म नायिकाको भुमिका निर्वाह गर्छे । सबै छोरीहरुको घर एक प्रकारको खान्दानी हिसावले गुर्जेको छ । सबै छोरा छोरीहरुले महिनाको २/२ हजार दिए पनि दधिरामलाई यथेष्ट पुग्छ । सो कुरा, उनी आफैको सुवेदारको पेन्सन छ । गाउँमा जग्गा जमिन प्रशष्त छ । १०० मुरी आउने खेत छ । ३० मुरी कोदो आउने वारी छ ।

बरु साथमा केही नहुने धनाढ्य वन्न सक्दा रहेछन् तर दधिराम वस्नेत जस्ता विहान उज्यालो भएदेखि साझँ नपरुन्जेल सम्म एउटा जोगीको अनुभुतिमा बाँच्दा रहेछन्

पोखो खरवारी र वनजङ्गल त लेखाजोखा गर्न नसकिने छ । उ गाउँमा एउटै हातको औलामा गनिने हुनेखानेमा पर्छ । तर नजिकबाट उसलाई चिन्नेले केही नभएको तन्नम् भगत ठान्दा होलान् । अर्थात सम्पत्ति र उसको आचरणमा देखिनै आकाश जमिनको फरकले त्यस्तो सोच्नु स्वाभाविकै लाग्छ ।

फेरि लाग्छ, मान्छे साथमा सम्पत्ति भएर मात्र धनिमानी हुँदोरहेनछ, बरु साथमा केही नहुने धनाढ्य वन्न सक्दा रहेछन् तर दधिराम वस्नेत जस्ता विहान उज्यालो भएदेखि साझँ नपरुन्जेल सम्म एउटा जोगीको अनुभुतिमा बाँच्दा रहेछन् ।

‘अब हेर्नाेस है त आमा, तपाईका भिनाजु भनाउँदाले कहिले दुध, कहिले मोही, कहिले चिया, भनेर सताउन विधि सताउँछन् ।’ छोरीले भन्छे, ‘भैसी पाल्न कति गोता, कति दुःख हुन्छ । तिन्लाई भने चेपारो घसेर भन्दिए भयो ।’

म केही वोल्दिन । न त छोरीको कुरा सही भन्न मन लाग्छ । न त परिचित उसको आचरणको बयान गर्न मन लाग्छ । फोहोर साल भँैसी ल्याउँदा भनेका केही वाक्यांश सम्झन्छु – ‘तिमीहरु कहाँको दुध लान थालेपछि त नातिनीलाई वल्ल भात रुच्न थालेको छ । ’

–‘अरु कहाँ त दुध मा पानी थपेका हुन, कि पानीमा दुध थपेका हुन केही पत्तो
नपाइने । तिम्राँ जस्तो खाँटी र मिठो दुध त अन्त कहाँ पाउनु ।’
–‘आज त तिम्री दिदीले मोही पनि ल्याउन भनेकी छन् । ल नानी २ वटा बोत्तल ल्याएको छु मोही हाल्दिउ बा ।’
–‘मोही त वाक्लो मन पर्छ । तिमीहरुले खाने मोहीमा जति पानी थपे पनि थप तर मलाई दिने मोहीमा त धेरै पानी नथप है ।’
–‘आज त बाक्लो चिया खान मन लागेर एका विहानै आएको । ल साली गिलास भरि वाक्लो चिया बनाएर लेउ त मलाई माया मान्ने एउटा तिमी नै त छौ यस गाउँमा ।’

गोरु बेचे जस्तो नातो भन्दा परको नातो । केवल त्यसलाई मागेर खाने वहाना बनको छ । कति दिए मोही, दुध र बारीको तरकारी । कति खुवाए चिया र खाजा । तर कहिले मेरो दुःखमा काम लागेन । जहिले पनि आफ्नो स्वार्थसिद्धका लागि ¥याल चुहाउने । जहिले पनि म गरिब कहाँ आशा बोकेर आउने । कति पल्ट जेठो छोरासँग भनेर छोरीलाई एउटा बोर्डिङ्मा पढाउने काममा लाईदिनोस न भने । आई.ए.पास गरेकी छोरी विषय पनि मिल्ने, शिक्षा मन्त्रालयको उपसचिवले चाह्यो भने नाथे एउटा वोर्डिङ्मा राखिदिन के गाह«ो कुरा हो र ? ल ल भैैहान्छ नि’ भन्छ ।

कति खुवाए चिया र खाजा । तर कहिले मेरो दुःखमा काम लागेन । जहिले पनि आफ्नो स्वार्थसिद्धका लागि ¥याल चुहाउने ।

कहिले भन्छ, ‘छोरालाई भनेको छु, अर्काेको वैशाख बाट राखि दिन्छु भनेको छ । त्यस्ता वैशाख कति गए कत्ति । अब त भन्न पनि मन लाग्न छाडिसक्यो । मलाई लाग्न थालेको छ, त्यो आफ्नो लागि मात्र बाचेको मान्छे रहेछ । अर्काको तिल दाना वरावरको चिजको पनि आशा गर्ने, चोचोमोचो मिलाएर बोल्ने । आफ्नो तर्फबाट हातमा थुक्दे भने पनि नथुकिदिने । संवेदना शुन्य मान्छे । त्यस्तो मान्छेले पनि नाताको पुर्काे समातेर किन साली भन्नु । घरि घरि त ज्यातवित्ति रिस उठ्छ । घरि बेहद आश्चर्य
लाग्छ ।

म भर्खरै गोवर सोरेर हात धोएर भैसी दुह्न लागेकी थिए । भैसी तगारो खोलेको आवाजले अलिक दच्किन्छ । हेर्दा उ आएको रहेछ । म मनमनै सोच्छु, यति छिटो किन मरेको होला, खाइ पल्केको वेशर्मी ।

‘भर्खरै दुहुदै छेउ साली ! ल ल छिटो दोउ, बाक्लो चिया खाएर जान पर्ला भन्ने सोचेको । एक गिलास दुध नै खाएर जानु पर्ला ।’
उ पुलुक्क म तर्फ हेर्छ । हातको स्टील जग भुईमा खस्छ । गणेश भुँडीले गर्दा वल्लतल्ल निहुरिएर जग टिप्छ र भन्छ, ‘के गर्छेउ नातिनीलाई दुध पनि लानु प¥यो भनेर ।’

मेरो मनमा बेग्रल्ती कुरा खेलेछन् । उसले हाम्रो घरमा मात्र होइन, सान्नानी र गोदाबरी भाउजुको घरमा पनि उत्तिकै सताएको छ ।

उसलाई देखेर भैसी दुहुँदा दुहँुदै छटपटाउँछ । म झर्किदै भन्छु ‘घरतिर जानोस भिनाजु, देख्नु भएन, भैँसी अलि दच्काहा छ ।’
तब उ घरतिर जान्छ । मलाई मनमा लागि रहन्छ, ‘आफू कसै कहाँ गएर हात थाप्न लाज लाग्छ । जति खाँचो र अभाव भए पनि खुम्चिएर बसिन्छ आफ्नै भाग्यलाई धिक्कारिन्छ । यो एउटा मर्द लोग्ने मान्छे भएर पनि कति लोभी, कति धुर्त र कति नकचरो बन्न सकेको । आफु भने गाउँभरिको धनिमानी र ठूलो ठालु मान्छे । त्यही खाले वडप्पन र तुजुक देखाउँछ । आफु जस्तो सुखी र भाग्यमानी अरु नभएको ढोकुवा गर्छ । जाबो त्यति दुध पनि किनेर खान नसक्ने केको भाग्यमानी ? के को
धनीमानी ? (लौ त भनौ भिखारी भने पनि हुन्छ । मेरो मनमा बेग्रल्ती कुरा खेलेछन् । उसले हाम्रो घरमा मात्र होइन, सान्नानी र गोदाबरी भाउजुको घरमा पनि उत्तिकै सताएको छ ।

उसो त मुखभरीको जवाफ नलाएर होला । यति विधि अचाक्ली गरेको । यति विधि मनपेट पाएको । लाग्छ, आजलाई खाओस् । अतिचार गरिरह्यो भने मुखमा कसले पानी भरेर बस्छ र ? केही न केही त भन्नु पर्ला । दिएर खाएर मान्छेलाई आफ्नो बनाउनु खोज्नु भनेको पानी पकाएर फाँडो बनाउनु जस्तै हो । म मनमनै निष्कर्षमा पुग्छु ।

घरमा जाँदा लोग्नेसँग गफ गरिरहेको रहेछ । के गफ गरेको छ भन्नु, उसले एकतर्फी कुरा सुनाएको छ । मेरा लोग्ने लाटो जसरी उसका गफ सुनिरहेका छन् । यस्तो लाग्छ , उसको गफ गर्ने कला नम्बरी सुन बराबर छ । कुनलाई कति बेलामाथि चढाउने र कुनलाई कतिबेला फेदमा झार्ने या चिप्लयाएर आफ्नो दायरामा बसिभूत पार्ने । उसले राम्ररी जानेको छ । अनि ठाउँ ठाउँमा आफ्नो फूस्रो रवाफ देखाउन, कमजोरी ढाकछोप गरेर तजुक दर्शाउन समेत खप्पिस छ । त्यस्ता कुरा सुनेर म भूत्भूतिदै भित्र पस्छु । तर म बेचैनसँग बस्न सक्दिन । भित्रबाट पनि उसैको कुराले कान टट्याउँछ ।

उ भने वेपर्वाहसित झन्दै जान्छ, ‘ मलाई छोरा छोरीबाट कुनै चिन्ता छैन । सबै आ–आफ्नो ठाउँमा खुशी छन्, सुखी छन् । भगवान्का कृपाले सबैको माया म माथि अघोरै छ । तर जीवनमा एउटै धोका छ, जेट र पानी जहाजमा चढ्ने, विदेश घुम्ने । साहिलाले उहिल्यै जाउँ भन्थ्यो । त्यतिबेला अलि स्वास्थ्य ठिक भएन । बाथले खुट्टा समात्यो । यसपाली कान्छो छोराले नि बेलायत लान्छु भनेको छ, मंसिरको पहिलो हप्तामै लिन आउँछु भनेको छ । मेसो मिल्यो भने यही मंसिरमा बेलायत घुम्न गइन्छ होला । त्यसपछि छोरीहरुले पनि जर्मन बोलाएका छन् । आफ्नो पैसा लाग्ने होइन, पुर्खाैउली सम्पत्ति सकेर घुम्ने होइन । पाएको मौका किन छाड्ने ? बेलायतबाट आएपछि जर्मन पनि जानु पर्ला ।’

लोग्ने चुपचाप ब्रतालुले स्वस्थानी कथा सुने झै सुनिरहेका छन् । म भने मनमनै प्रतिवाद गर्छु, ‘आफूलाई बिहान बेलुकाको समस्या टार्न धौँ– धौँ छ । नजिकै आई रहेको दशै क्यारेर मानम भन्ने लागिराछ । दुध बेचेर, तरकारी बेचेर हातमुखको समस्यामा बुझो लाउनु परेको छ । उ भने जेट र पानी जहाज चढेर विदेश घुम्ने कुरा गर्छ । मुख मिठ्याई मिठ्याई चनख्याएर विदेशका कुरा गर्छ लोभिको पिण्ड ।

मैले उसको बारेमा सोच्दा सोच्दै मोवाइल बज्छ । छोरीले हङ्कङ्बाट गरेको फोन रहेछ। हालखबरका साथ– साथै हाम्रो घरका कुरा गर्छ । केही कुरा अस्पष्ट भावमा गर्छ । सायद हामीले कुराको भेउ पाउँछन् भनेर होला, केही गोपनियता कायम राख्दै भन्छ, ‘म भरे फोन गर्छु, अहिले सानीमा काँ छु, बाहिरबारी सानीमा काँ क्या ।’ भनेर फोन राख्छ ।

मेरी छोरी स्वरुपाले चिया लिएर आउँछे । ऊ चियाँ लिएर आएको देख्ने वित्तिकै मुख मिठ्याउँछ र भन्छ, ‘दुधै लिएर आयौ क्या हो नानी ।’
‘होइन चिया ल्याएकी ।’ स्वरुपा त्यति मन लागेर बोल्दिन ।

उसले मुखले ठिक्क पारेर भन्छ, ‘यि नानीलाई पनि एउटा जागिर लाउन सकिएन । मनमा त लागेको छ । छोरासँग पनि बारम्बार भनेको छु । जतिबेला कुरा गरे पनि छोराले हस् भन्न छाड्दैन तर भनेजस्तो गरी पु¥याउदैन । यति एउटी छोरी रोजगारी भए पनि तिम्लाई पानी खाने आधार हुन्थ्यो नि । यि नानीको भाग्य उस्तो भएर हो कि । तब मलाई मुखै फोरेर भन्न मन लाग्छ, ‘केही नबोली खाएपनि एक कप चिया त पचिन्छ होला नि । किन बाह्र सत्ताइस कुरा गर्नु प¥यो ।’ तर केही बोल्दिन । बोल्नु बेकार ठान्छु । उसले जे भन्यो त्यही सुन्नु बाध्यता र बुद्धिमानी ठान्छु ।

मेरो लोग्ने भने मुन्टो हल्लाई हल्लाई सुनेका छन् । बीच बीचमा कुरा मिसाउँछन्, ‘हाम्रो नजिकको आफ्नो मान्छे भन्नु नै हजुर त हो नि’ भनेर । मलाई भने औधी रिस उठ्छ । झन् उ घरी घरी हाँसेको देख्दा रिस दोब्बर हुन्छ । तर मेरो रिस र आपत्तिजनक छनकले उसलाई प्रभाव पार्दैन । खास्सा मिठो चिया खाइयो भन्दै गिलास कुर्सी मुनि राख्छ । ‘हुन त दुधै मिठो भएर होला नि चिया मिठो भएको ।’ थप्दै भन्छ ।

‘अरु कहाँको दुध नि यस्तै त होला नि ।’ मैले रुखो भावका भन्छु । मेरो बोलीले उसकोे मनमा आघात पु¥याए पनि केही झै लाग्दैन । म अलिकति कुटिल र कृतघ्न बनिदिन्छु ।

उ केही बोल्दैन । बरु नजरले बारी तिर नियाल्छ । बारीमा चहार्छ । फेरि मेरो दृष्टि उसको हातको डब्बामा पर्छ । मैले हेर्दा हेर्दै उसका र मेरा नजर जुध्छन् । उ कुटिल मुस्कान छाडेर भन्छ, ‘भिनाजुको हातमा डब्वा देखेर तर्सियौ क्या हो, लौ यो डब्वा दुधले भरिदेउ ।
‘म दुध दिन सक्दिन भिनाजु आज ।’
‘किन त्यस्तो रुखो र निष्ठुरी बनेकी हौ त नि । म टाढाको अन्यत्री होइन । तिम्रै भिनाजु हुँ क्यारे नि ।’
‘कुरो तपाईले बुझ्नु भएन । तपाईलाई टाढाको ठानेर होइन । मैले भनेको भैसी नचोख्यार हो । त्यति लामो बाटो व्याउती दुध लाँदा छोइछिटो हुन सक्छ, चोखो लाग्न सक्छन् । बल्ल तल्ल सप्रेको भैसी बिग्रन सक्छ । त्यही भएर हो नत्र भने ………….।

कस्तो नमिल्दो कुरा गर्छेउ आजकलको जमानामा पनि । त्यही नि म जतन गरेर छोपेर लान्छु । दुध नभई नातिले भातै खाँदैन । तिम्रो भैसीको दुध असाध्यै रुचाउँछ । तिम्रो भैसी व्याएको छ भनेर सान्नानी कहाँ दुध लिन गइन ।’ उसले दबाब मुलक भाषामा भन्छ ।
‘जे भन्नोस् म दुध त दिन सक्दिन ।’

तब उ निराश देखिन्छ । कति आशा बोकेर भाँडो लिएर आएको होला । सायद दुध नपाउँदा मन खिस्रिक्क पा¥यो होला । मलाई लाग्छ, उसलाई त दुध लगेर नातीलाई खुवाउन पाए भयो । हाम्रो भैसी तलमाथि भई दुध दिन छाड्यो भने को जवाफदेही हुन्छ ? यही दुध नपाएको घटनाले दुध लिन आउन छाडे हुन्थ्यो । मलाई दुःखमा काम नलाग्ने त्यस्तो बतौरो मान्छे किन आउनु, किन धाउनु प¥यो । गाउँमा एउटा न एउटा नातामा बाधिएका को हुन्नन् र ? गत न पत्तको नाता सोझाएर मलाई साली भन्छ । मलाई त घर नआइदिए हाइसन्चो लाग्छ । तर के गर्नु ? आज रिसाए भोली आइहाल्छ, म मनमनै तर्कना गर्दछु ।
‘ल त दिदिनौँ भने के वसाई भयो त । भैसी नि विग्रन्छ भने पछि त कर गर्नु पनि भएन नि ।’

यति भनेर उ उठेर जान्छ । मलाई ‘दुध दिइन सालीले भनेर नरिसाउनोस’ भन्नसम्म मन लाग्दैन । लोग्ने पनि मुर्तिवत् बस्छन् । उ पिँढीबाट ओर्लन्छ । र, आगँनमा हिँड्दा हिँड्दै टक्क उभिएर भन्छ, ‘अब कहिले चोख्याउछेउ अरे भैसी । चोख्याउँदाको दिनमा मोही पनि लिन आउनु पर्ला । ए साच्चै त्यस दिन त खिर पनि त पकाउली क्यारे नि त ।’

म अचम्म पर्छु, यो घटनाले अर्थात् मैले दुध दिन बहाना बनाएको अवस्थाले उसको मनोवैज्ञानिकतामा रत्तिभर असर नपर्दा । लाग्छ, वेशर्मी मान्छेको कुनै उपचार हुँदो रहेनछ । हाम्रो परिवारको सदस्य उ आएको मन पराउँदैनन् । छोरी पनि आजकल उसलाई देख्ने वित्तिकै व्यङ्ग गर्छु, ‘तपाईको प्यारो भिनाजु आउनु भयो ।’ उ बोलेको पनि ननिको र नजाती लाग्छ । बोले पछि नसुनी नहुने वाध्यता भएर मात्र हो । उ भने कुनै असहजता र अस्वाभाविकता विना नै हाम्रो वेवास्ता पचाउँछ । कुनै मान सम्मान खासै नपाउँदा पनि भोली आउनु पर्ला भन्छ । या अर्काे दिनको भाका राख्दछ । हामी चुप लागेर विदावादी हुँदाको खुशी मनाउँछौ । तर यतिबेला उ मेरो जवाफको प्रतिक्षामा उभिरहेछ । ‘११ दिनमा चोख्याउने चलन तपाईलाई पनि थाहै होला क्यारे, आज छ दिन भयो ।’ मैले घुमाउरो पारामा भन्छु ।

फेरि केही दिनपछि उ टुप्लुक्क आइपुग्छ । उसको आगमनले निश्चित रुपमा दिनको किटान गरेको हुनु पर्छ । कहिले भैसी चोख्याउने हो भनेर औला भाँचेर आएको हुनुपर्छ, म मनमनै अड्कल काट्छु । किन भने आज ११ दिन भयो । बुढा पाडाको न्वारान गरेर भरखर गोठबाट फर्कनुभएको छ । उ हातमा ग्यालिङ्ग, जहाँ मोही हाल्न ल्याएको हुनुपर्छ । अर्काे हातमा हर्लिक्स डब्वा लिएर आएको छ । सायद दुध राख्न ।

ऊ आगँनमा उभिएर मसुक्क कुटिल हाँसो हाँसेर भन्छ, ‘आज साइत परे जस्तो छ । आजै हो क्या हो होइन भैसी चोख्याउने ?’
‘हो, चोख्याएर सकियो,’ लोग्नेले भन्छन् ।
मैले पनि औला भाँचेर आएको छु नि, किन विस्तुर जान्थ्यो ।’ उसले निसंकोच भन्छ ।

फेरि भन्छ, ‘नातिलाई दुध नभई नहुने । भैसी ल्याउ भने कस्ले स्याहार्ने । एक चौथाई भए पुगि हाल्छ त्यसलाई । पैसा दिने हो भने त घर मै ल्याइदिन्थे । फेरि दुध मात्र लगेर सुख पाइने हो र । यिनकी दिदी मोही भने पछि हुरुक्कै हुन्छिन् ।’
उसले लामो भूमिका बाध्न चाहन्छ । मेरा मनमा भने धारिला वाक्य यताउती चलमलाउँछन् तर केही बोलिहाल्दिन । मेरो निशब्दता उपर उ झन हौँसिएर बोल्छ, ‘यो भाँडोमा मोही हालिदेउ, यो भाँडोमा दुध । आज म भुल्दिन । अलि हतार छ ।’
म उसको अनुहारमा हेर्छु मगन्तेको भाव सिवाय अरु केही दख्दिन । मैले छोरीलाई अह्राउँछु । उ दुवै भरिएका भाँडा टिपेर बाटो लाग्छ । जाँदा जाँदै घिरौलाको झ्यालमा एकतामासले हेर्छ । निकै बेर हेरेपछि अगाडि बढ्छ ।

फेरि बेलुका आउँछ । म उसको आगमनको खासै वास्ता गर्दिन । बारीमा खनिरहेकी मेरा अगाडि टक्क उभिएर भन्छ, ‘तरकारी पकाउने केही छैन भनेर गनगन गरी तिम्री दिदीले । बिहान आउँदा झ्यालमा घिरौला देखेको थिए । त्यसैले आएको ……….
आम्दानी कतैबाट छैन यसो तरकारी बेचेर गर्जाे टारेको छ । कति मेहेनतले लगायो । कहिले असिनाले सखापै पार्छ । कहिले भाउ पाइन्न । तरपनि बजार नजिक हुनाले वेच्न समस्या छैन । घरमै पनि खरिद गर्न आउँछन् । सोच्छु, ‘पक्कै पनि यस्ले पैसा तिरेर लान आएको होइन, मागि खान पल्केको यस्ले, मागेकै हो ।’

जे होस म घिरौला टिप्न बारीमा जान्छु । २ वटा कलिला र दुई वटा छिप्पिएका लिएर आउँछु । ‘१ किलो लैजाने होला नि उ तर्फ नहेरी भन्छु ।
‘ किन जोख्नु प¥यो, पैसा दिने भए पो जोखेर लाने ।’ उसले मेरो हातबाट घिरौला खोसेजस्तै गर्दै भन्छ, ‘प्लाष्टिक कागज पनि चाहिँदैन म यत्तिकै लान्छु ।’
म उ गएको बाटो हेरिहन्छु । दङ्चित खाएको मेरो मनमा अनेकौ कुरा खेल्छन्, खेलीरहन्छन् ।