भुटेको बिउ र ओखरपाङ्ग्रे नेताको भाषण

प्रणय दिवस (भ्यालेन्टाईन डे) को अघिल्लो दिन एक जना बुढो मानिस उपहार पसलमा आयो र दुई दर्जन शुभकामना कार्ड किन्यो। त्यो मान्छेले  प्रतेक कार्डमा “हेलो प्रिय, सञ्चै छौ? मलाई चिन्यौ नि! तिमीलाई मैले ज्यादै मिस गरेको छु। तीम्रो सम्झनाले आँफैमा काउकुती लागेर आउछ। भोली प्रणय दिवसको दिन  भेटौ न है।” उक्रान्ति धेनु गर्ने बेलाको बुढाले  झन्डै दुई दर्जन कार्ड्मा त्यस्तो लेखेको देखेर पसले छक्क पर्‍यो र सोध्यो- कसलाई लेख्नु भएको यस्ता म्यासेज? बुढो मुस्मुराउदै भन्यो- म वकिल हुँ, गत साल एक दर्जन कार्ड पठाएको चार जनाको सम्बन्ध बिच्छेद गराए। अहिले दुई दर्जन कार्ड पठाउदा कम्तिमा पनि एक दर्जनको सम्वन्ध बिच्छेद गराउन आउँदछन होला।

माथि उल्लेखित फटाह वकिल जस्तै आफुलाई घ्याम्पे पार्टी भन्ने ओखरपाङ्ग्रे नेताहरुको भाषण पनि आफ्नो स्वार्थ सिद्दीको लागि उछिल्लियर अरुलाई सत्तो-सराप र खिस्सी-ट्युरी गरेर आफु सर्वश्रेष्ट स्थापित गर्ने कुचेष्टा गर्दछन।    

नेपालको संबिधान २०७२ को भाग २९ को धारा २६९ अनुसार कुनै पनि राजनीतिक दलको गठन राजनीतिक दर्शन, बिचरधारा र कार्यक्रममा प्रतिबद्द भै गठन हुने ब्यबस्था छ। अत: यसरी गठन भएका राजनीतिक दलले आफुले अंगिकार गरेको दर्शन, बिचरधारा र कार्यक्रम जनता माझ स्थापित गराई आवधिक चुनाव मार्फत सरकारको नेतृत्व गर्नु र सोही अनुसार कार्यवन्यन गराउनु हुनु पर्ने हो। तर बिडम्वना, ओखरपाङ्ग्रेहरु सिद्दान्त, दर्शन, कार्य-योजना र कार्यक्रमको बारेमा चुईक्क सम्म बोल्दैन्न। सुशासनको स्थापना, भष्ट्राचार नियन्त्रण, जन-जिविकाका सबालहरु, स्वाधिनता र संबृद्दिका कुरै उठाउदैनन। उनिहरुको व्यबहार र कार्यशैली हेर्दा अरु दल वा त्यसको नेतृत्वलाई उछितो काडनु, खिस्सी-टियुरी गर्नु, कटाक्ष गर्नु, अपराधीकरण गर्नु, उट्पट्याङ गफ लगाउनु, टुक्का हालेर जनता हसाउनु, स्राप दिनु, धारे हात लगाउनु र तल्लो स्तरको गाली-गलौज गर्नु भएको छ। आजभोलि राजनैतीक बैचारिक आलोचनालाई सत्तो स्रापले बिस्थापित गरेको छ। तेरो सत्यनास होस, त लाई किरा परुन, तेरो बंस नाश होस्, तेरो अपुताली परोस, त कुहेर फुत्रुक्क झरेस, तलाई हरिया बासमा बान्न पाईयोस, तलाई एकोहोर संख फुकेर दौडाउन परोस, जस्ता निच र तुच्छ शब्दबाण आउने गर्दछन।आजकल नेताहरुको अनुहारमा सरापीको थुतुनो देख्न सकिन्छ। 

पहिले पहिले अरुको हिक्मत बढाउन ” त आट म पुर्याई दिन्छु” भन्थे तर अहिले ” त ठट्टा गर, म पत्याई दिन्छु” जस्तो भएको छ।

हामी जनता पनि उस्तै छौ। पहिले पहिले अरुको हिक्मत बढाउन ” त आट म पुर्याई दिन्छु” भन्थे तर अहिले ” त ठट्टा गर, म पत्याई दिन्छु” जस्तो भएको छ। हावादारी गफले कहिले जनतालाई रेलको लिकमा सुताएका छन, कहिले ग्यासको पाईपमा छिराएका छन, कहिले धरहराको टुप्पोबाट खसालेका छन, कहिले पानी जहाजबाट हुत्याएका छन, कहिले हनुमानको गदाले गरिवको कम्परोमा हिर्काएका छन, कहिले सेटलाईटको भुतले तर्साएका छन, कहिले बेसार पानीले निथ्रुकै भिजाएका छन, कहिले बतासको रुपमा त कहिले यती र ओम्नीको अवतारमा लखेटेका छन। तर पनि औतारी अवतारको रुपमा स्विकार गरिरहेका छौ।   

कुनै पनि राजनीतिक दलले आदर्श र सिद्दान्त छाडे पछी त्यो ग्याङ् मा रुपान्तरण हुन्छ र नेता नाईके। ग्याङ् र नाईके हुन बाट जोगिन अरुलाई उट्पट्याङ गाली गरेर आफु ठीक हुँ भन्नु भन्दा आफ्नो आदर्श, निती एव कार्यक्रमबाट जनताको विश्वाश लिनु पर्दछ। आफुले कार्यक्रम के के हुन? कसका लागि, कसरी, कहिले को बाट सम्पादन गर्दछौ? सुशासन कायम गर्ने के कस्ता रणनिती छन, जन-जिविकाका मुद्दाहरुलाई कसरी सम्बोधन गर्दछौ? भुई मान्छेहरुको जीवनमा के कस्तो परिवर्तन कसरी ल्याउदछौ? शिक्षा, स्वास्थ्य, रोजगार सृजनामा कसरि काम गर्दछौ? सबल अर्थतन्त्र र समतामुलक समाजको निर्माण गर्ने खाका के के हुन? राष्ट्रिय स्वाभिमान र स्वाधिनता कसरी कायम राख्दछौ र थप बिकास गर्दछौ? समाजका तमाम खाले बिभेद बिरुद्द तिम्रा कार्य-योजना के के हुन? भष्ट्राचार र दलालीतन्त्रको अन्त गर्न के के गर्दछौ? यी र यस्तै प्रश्नहरुको उत्तरमा केन्द्रित हुनु पर्ने होईन र? ठाडो गाली र टुक्काले देश सम्ब्रिद्द हुँदैन, जनता शुखी हुँदैनन।

एक पटक एउटा मान्छेको एउटा खुट्टामा निलो दाग देखिएछ र डाक्टरकोमा जचाउन गएछ। डाक्टरले खुट्टा जाचे पछि त्यो मान्छेको खुट्टा काट्नु पर्दछ भन्यो। डाक्टरको सल्लाह अनुसार एउटा खुट्टा काटियो। केही समय पछी त्यो मान्छेको अर्को खुट्टा पनि निलो देखियो। फेरी त्यही डाक्टरले अर्को खुट्टा पनि काटी दियो। बिचरा दुबइ खुट्टा काटे पछी त्यो मानिस बैसाखीको साहराले मात्र हिडडुल गर्ने भयो। केही हप्ता पछी त्यो मानिसको बैसाखी पनि निलो भयो। दुबै खुट्टा काट्दा पनि फेरी निलो देखेर त्यो मानिस आत्तियो र डाक्टर कहाँ गयो। डाक्टरले सुक्ष्म जाच-पडताल गर्‍यो र भन्यो- लौ तपाईको समस्या बल्ल पहिचान भयो। तपाईको खुट्टा र बैसाखिमा निलो दाग बनाउने त तपाईंले लगाएको त्यो निलो पाईन्टको रंग पो सरेको रहेछ। जसरी दुबै खुट्टा काटिसकेपछी कारण पत्ता लाग्यो त्यसरिनै देश र जनता भाडाखालोमा पारी सकेपछी राजनीतिक दल र नेता चिन्दा धैरै ढिलो हुने छ।  जनताहरु पनि जागरुक हुनु पर्दछ। ख्याल रहोस,  भुटेको बिउ उम्रदैन र ओखरपाङग्रे नेताको भाषणले देश बन्दैन। जसको निती उसैको नेत्रित्वको लागि स्थानिय सरकारको निर्वाचनमा विबेकको प्रयोग गरौ।