लोकगायक विमलराज क्षेत्री कांग्रेस राजनीतिमा होमिएका छन् । क्षेत्री १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दैछन् ।
पर्वतबाट खुल्ला महाधिवेशन प्रतिनिधिमा निर्वाचित क्षेत्रीले लोकसांस्कृतिक क्षेत्रको सम्मान र प्रतिनिधित्वका लागि आफू केन्द्रीय सदस्यको उम्मेदवार रहेको बताए ।
२०५० सालमा पर्वतको श्री शारदा माविबाट नेपाल विद्यार्थी संघको राजनीतिमा प्रवेश गरेका क्षेत्री नेपाल ट्रेड युनियन कांग्रेसको पूर्व केन्द्रीय सदस्य समेत हुन् । २०५६ सालबाट औपचारिक गायन यात्रा सुरु गरेका क्षेत्रीको बल्लै भो भेट, जापान टोकियो , सुपारी चाम्रो, बुट्टे रुमाल, मधुवनैमा, रानीघाटैमा, हिमाल सेतै छ, औठी कुसैकोलगायतका गीत चर्चित छन् ।
उनले नेविसंघ, ट्रेड युनियन कांग्रेस र नेपाली कांग्रेस सम्बन्धी गीतहरु पनि गाएका छन् । सुन सुन साथी, वीपी सम्झेर , कांग्रेसको सिपाही लगायतका पार्टी गीतहरु क्षेत्रीले गाएका छन् ।
‘म गायनमा आउनुअघि नै नेविसंघको राजनीतिमा सक्रिय थिएँ । लामो समय विभिन्न फोरममा बसेर लोकतन्त्र र कांग्रेसका लागि काम गरियो । अब केन्द्रीय समितिमै पुगेर काम गर्न चाहेको छु’, क्षेत्रीले भने । क्षेत्री लोकतान्त्रिक लोकदोहोरी संघको संस्थापक अध्यक्षसमेत हुन् ।




