श्रीपति समाजसेवा पुरस्कार २०७८ राष्ट्रिय आविस्कार केन्द्र काठमाडौंलाई प्रदान गरिने भएको छ । पुरस्कार राशि२ लाख २२ हजार २ सय २२ नगदसहित श्रीपति समाजसेवा पदक र ताम्रपत्र छ ।
श्रीपति कोइराला गुठीले विज्ञान र प्रविधिको क्षेत्रमा देश र जनताको सेवा गरेकोमा केन्द्रलाई पुरस्कार प्रदान गर्न लागेको अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाले बताए । यसअघि यो पुरस्कार पहिलोपल्ट माइती नेपाललाई प्रदान गरिएको थियो ।
अध्यक्ष कोइरालाले महावीर पुनको अगुवाईमा खोलिएको संस्थालाई सम्मान गर्न पाउनु गौरवको विषय भएको बताए । गुठीले पोखरा स्वास्थ विज्ञान प्रतिस्ठानमा अक्सिजन प्लान्ट निर्माणका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख गेहेन्द्रश्वर कोइराला, नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ, शिक्षाप्रेमी हेरम्बप्रसाद कोइराला र गुठीका सचिव नवराज कोइरालाले बोलेका थिए ।
गुठीले पोखराका विभिन्न क्याम्पसबाट स्नातक तहमा उत्कृष्ट अंक हासिल गर्ने विद्यार्थीलाई प्रत्येक वर्ष श्रीपति विद्या पदक, नगद पुरस्कार र सम्मान गर्दै आएको छ । सरकारी विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक छात्रवृत्ति र शैक्षिक सामग्री प्रदान गर्दै आएको गुठीले २०७१ सालमा श्रीपति कोइरालाका बारेमा ‘श्रीपति महाकाव्य’ प्रकाशन गरेको छ ।
गुठीले दाङको राप्ती नदी किनार श्रीपतिको निधन एवं दाहसंस्कार गरेको स्थलमा श्रीपति कोइराला स्मृति यात्रु प्रतीक्षालयर पक्की भवन निर्माण गरेको छ । पर्वतको फलेवासमा यात्रु प्रतीक्षालय निर्माण गरेको गुठीले तनहुँको देवघाट गाउँपालिकामा २ रोपनी जमिन खरिद गरी श्रीपति आश्रम निर्माण गर्ने जनाएको छ ।