कास्की प्रहरीले घूस दिन खोजेको आरोपमा १ जनालाई बिहीबार नियन्त्रणमा लिएको छ । बिहीबार बिहान साढे १० बजेतिर पोखरा १७, छोरेपाटनको चेकप्वाइन्टमा सवारी चेकजाँच गर्ने क्रममा ५ सय घूस दिन खोज्ने फेदीखोला २ का ३५ वर्षीय मुक्तिराम पौडेल पक्राउ परेका हुन् ।
पोखराबाट बुटवल जाँदै गरेको लु२ख २९३ नम्बरको बसका सहचालक पौडेलले सवारी चेकजाँचका क्रममा हामी मिलौं भन्दै ५ सय रुपैयाँ प्रहरीलाई दिन खोजेर र प्रहरीले अस्वीकार गर्दा उल्टै अभद्र व्यवहार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए ।
उनलाई नियन्त्रणमा लिई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान भइरहेको प्रवक्ता हमालले जानकारी दिए । पौडेललाई ७ दिन म्याद थप गरी कास्की प्रहरीको हिरासतमा राखिएको छ ।