मुस्ताङको जोमसोममा जनगणना कार्यालय

जोमसोम—‘मेरो गणना,मेरो सहभागिता’ भन्ने नारासहित राष्ट्रिय जनगणना २०७८ प्रारम्भ भएको छ ।राष्ट्रिय जनगणनाको अभिलेखिकरणका लागि हिमाली जिल्ला मुस्ताङमा यसको जनगणना कार्यालय समेत स्थापना भएको छ ।
मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले बुधबार जिल्ला जनगणना कार्यालय मुस्ताङको साईनबोर्ड टास गरी कार्यालयको स्थापना गरेकी हुन् । मुस्ताङमा घरपझोङ गाउपालिका—४ जोमसोमस्थित मुस्ताङ भन्सार कार्यालय रहेको घरमा कार्यालय स्थापना गरिएको सहायक जनगणना अधिकारी नारायण प्रसाद पौडेलले जानकारी दिए ।उनका अनुसार जनगणना कार्यालय २०७८ साल असार मशान्तसम्म रहने छ ।
मुस्ताङमा जनगणना कार्यालय स्थापना भएसंगै केन्द्रिय तथ्याङ्क विभागबाट रोजी शाक्यलाई जनगणना अधिकारीको रुपमा खटाईएको छ । राष्ट्रिय जनगणना २०७८ लाई सफल बनाउन जिल्ला गणना कार्यालयले मुस्ताङमा सरोकारवाला निकाय लगायतसंग समन्वयात्मक बैठक,प्रचार÷प्रसार,गणक र सुपरिवेक्षकहरुलाई आवश्यक तालिम दिएर कार्यस्थल खटाउने जनाएको छ । यस्तै कार्यालयले जनगणना २०७८ का लागि जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने समेत बताएको छ ।
कार्यालयका अनुसार मुस्ताङमा ७ जना सुपरिवेक्षक र ३३ जना गणकहरु कार्यस्थलमा खटिने छन् ।यस्तै मुस्ताङका ५ वटै स्थानीय तहमा २०७८ बैशाख १ गते देखि स्थानीय जनगणना कार्यालय स्थापना हुने छ । तर, जिल्ला गणना कार्यालयमा जनगणना अधिकारीसहित ७ जना कर्मचारी खटिने छन् । जनगणनाको कार्यअवधि १४ महिनाको हुनेछ ।
फोटो क्याप्सन ः मुस्ताङमा जनगणना कार्यालय स्थापना । तस्विर ःसमाधान ।