पैदलयात्रीलाई ठक्कर दिएर भाग्यो मन्त्रीको गाडी

शहरी विकासमन्त्री प्रभु साह सवार जिपले ठक्कर दिई घाइते भएका बच्चु तामाङको सम्पूर्ण उपचार खर्च हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईले व्यहोर्ने भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना१झ ३८४२ नम्बरको जिपले शनिबार दिउँसो ठक्कर दिँदा लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय तामाङ गम्भीर घाइते भएका छन् ।

उनको स्वाभीमान अस्पतालमा उपचार भइरहेको छ। मन्त्रीको गाडी ठक्कर दिएर भागेको र उनले फर्किएरसमेत नहेरको भन्दै स्थानीय आक्रोशित छन् ।

तामाङको खुट्टा र कम्मरमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता मदन कुँवरले जानकारी दिए । मन्त्री साह भने पैदलयात्री ‘झुक्किएर’ लडेको दाबी गर्छन् । उनले सामाजिक सञ्जालमा आफूविरुद्ध केही मिडिया लागेको जनाएका छन् ।