दुरा जातिमा प्रचलित दुर्लभ ठाडोभाका दोहोरी गीत संरक्षण गर्ने प्रयास अघि बढेको छ । नेपाल संगीत नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र ठाडोभाका लोककला प्रतिष्ठान लमजुङको सहआयोजनामा लमजुङको राइनासमा गीतको छायांकन भएको हो ।
गीतको म्युजिक भिडियोमा लमजुङका विभिन्न भेग र तनहँुको बन्दीपुरबाट पनि कलाकार सहभागी छन् । ८६ वर्षकी नन्दमाया दुरादेखि २१ वर्षका नवीन बरालसम्मका ठाडोभाका गाउने कलाकार एकै साथ देखिँदै छन् ।
लोककला प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका परिषद सदस्य तथा लोकसंगीत विभाग प्रमुख हरिदेवी कोइरालाले देशका लोपोन्मुख र मौलिक भाका संरक्षणका विभिन्न प्रयास भइरहेको बताइन् । कार्यक्रममा मानव सेवा आश्रमका संस्थापक अध्यक्ष कृष्णराज ओलिया, ठाडोभाका लोककला प्रतिष्ठानका मुख्य संरक्षक बुद्धिमान गुरुङ र ठाडोभाका अनुसन्धानकर्ता मुक्तिनाथ घिमिरेले बोलेका थिए ।