मंगलबार पोखरामा नेपाल–प्रचण्ड समूहको प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माधव नेपाल–प्रचण्ड समूहले मंगलबार पोखरामा प्रदर्शन गर्ने भएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेकपाको संस्थापन पक्षले मंगलबार पोखरामा प्रदर्शन गर्न लागेको हो ।

नेकपा कास्कीको अगुवाइमा हुने प्रदर्शन चिप्लेढुंगाको मानव अधिकारचोकबाट सुरु भई महेन्द्रपुल, नयाबजार हुँदै पृथ्वीचोकमा पुगेर सभामा परिणत हुने नेकपा कास्की इन्चार्ज राजकाजी गुरुङ (करण)ले जानकारी दिए । सभालाई नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष हितराज पाण्डे (उत्तम), केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज राजकाजी गुरुङ (करण)लगायतले सम्बोधन गर्ने नेकपा कास्की सचिव बखानसिंह गुरुङ (आभास)ले बताए ।