ओली पक्षमा जाने सबै पूर्वमाओवादी नेता मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले मन्त्रिपरिषद्मा आफूलाई साथ दिने ५ पूर्वमाओवादी नेतालाई मन्त्री बनाएका छन् । सत्तारुढ नेकपा विभाजनपछि ओलीलाई साथ दिने रामबहादुर थापा पहिले नै गृहमन्त्री थिए । उनी यथावत छन् ।

मन्त्रिपरिषद्मा पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी ऊर्जा, मणि थापा खानेपानी, प्रभु साह सहरी विकास, गौरीशंकर चौधरी श्रम र दावा लामा खेलकुद मन्त्री बनेका छन् । रायमाझी र साह कुनै बेला बाबुराम भट्टराई पक्षमा थिए ।

०७२ असोजमा भट्टराईले माओवादी छाडेर नयाँ राजनीतिक यात्रा सुरु गर्दा रायमाझीले साथ दिएनन् ।

सहरी विकास मन्त्री बनेका साहले दाहाल र नेपालले अगाडि बढाएको पार्टीमा दुई अध्यक्ष भएकोमा लिखित असन्तुष्टि राखेका थिए । मधेसमा दाहालले मात्रिका यादवलाई र भट्टराईले साहलाई अगाडि बढाउँदै आएका थिए ।

खेलकुद मन्त्री बनेका लामा बिहीबारको दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकमा सहभागी थिए । उनी सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को प्रदेशसभा उम्मेदवारमा पराजित भएका थिए ।