पोखरा महानगरको प्रथम चौमासिक समीक्षा बैठक

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले वडाहरुले खेप्दै आएको आर्थिक व्यवस्थापनको समस्या केहि दिनभित्रै समाधान हुने बताएका छन् ।

महालेखा परीक्षकको कार्यालय र राष्ट्र बैंकले महानगरका वडाहरुमा खाता सन्चालनको अनुमति दिइसकेकाले विगतको जस्तो समस्या नहुने मेयर जिसीले बताए ।

बिहीबार महानगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै मेयर जिसीले स्वच्छ प्रणालीको विकास गरी वडा कार्यालयहरुका समस्या समाधान गर्ने कार्यमा आफू लागिपरेको बताए । उनले शुसासनको प्रत्याभूत हुने गरी काम गर्न वडा अध्यक्ष र सचिवहरुलाई आग्रहसमेत गरे ।

पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जनताका काममा भएको ढिलासुस्तीमा प्रशासनलाई मात्र दोष दिन नहुने बताए । बजेट बनिसकेपछि मात्र आफू पोखरा महानगरमा नियुक्त भएको भन्दै बरालले समस्याको पहिचान गरेर निकास दिनेगरी काम गर्ने बताए ।

पोखरा महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष डा. आरसी लामिछानेले विकास जहिले पनि चलायमान हुने भएकाले भोलिका सन्ततिले याद गर्ने किसिमको विकास आजको आवस्यकता भएको औँल्याए । त्यसका निमित्त सबै वडाहरुका समस्या सुन्नका लागि समीक्षा बैठकको अभ्यास गरिएको उनले बताए ।

समीक्षा बैठकमा पोखरा महानगरका ३३ वटै वडाका वडा अध्यक्ष र सचिवले चार महिनाको अवधिमा गरेका कामको प्रगति विवरण प्रस्तुत गरे । उनीहरुले आफ्नो वडामा निर्माण भईरहेका भौतिक पूर्वाधारका कामहरु बाटोघाटो, विजुली, खानेपानी, पुल पुलेसा विकास निर्माणका कामहरुबारे अवगत गराएका थिए ।

उनीहरुले वडाको विकास बजेट अपुग भएको, खाता सन्चालन नहुँदा उधारोमा धेरै काम गर्नुपरेको गुनासो गरे । खासगरी गाउँ विकास समितिबाट सिधै पोखरा महानगरमा गाभिएका वडाहरुले विकास बजेट थोरै भएको, जन अपेक्षा अनुसार काम हुन नसकेकोजस्ता समस्या सुनाएका थिए ।

शहरी योजना आयोगका उपाध्यक्ष डा. आरसी लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य सरोज कोईरालाले धन्यवाद ज्ञापन र सदस्य आर्किटेक्ट बाबुराम भण्डारीले सञ्चालन गरेका थिए ।