जनादेश लिनु लोकतन्त्र हो : पोखरेल

नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एंव उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले नयाँ जनादेशको अपेक्षासहित संसद विघठनको सिफारिस गरेको जनाएका छन् । पोखरेल प्रधानमन्त्री ओली निकट हुन् ।

उनले जनमतलाई लोकतन्त्रमा सबैले स्विकार गर्नुपर्ने उल्लेख गरे । पुरानो जनादेशको अर्थ बुझ्नेबारे केही अलमल पार्टीमा देखिएकाले यो निर्णय भएको उनको भनाइ छ । ‘अलोकप्रिय देखिन सक्छ, झट्ट हेर्दा । तर, ताजा जनादेश लिएर आउने भनिसकेपछि त्यो जनताको हितमा, देशको हितमा हुन्छ । संसद् भन्ने संस्थाकै विरोध गरेको ठहर्दैन । बरु अब नयाँ संसद् बन्छ’, उपप्रधानमन्त्री पोखरेलले भने ।

देश यो अवस्थामा आइपुग्नेको मुख्य कारण अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिक २८ गते प्रस्तुत गरेको आरोपपत्र भएको जिकिर गरेका छन् । ‘प्रचण्डजीको २८ कात्तिकको आरोपपत्रले हामीलाई त्यहाँ पुर्‍यायो । सँगै बसेर काम गर्न सकिँदैन भन्ने सन्देश त्यसमा थियो’, उनले भने ।