मोरङको मिक्लाजुङ गाउँपालिका–१ को जंगलमा विप्लव नेतृत्वको नेकपा कार्यकर्ताले मंगलबार एक शिक्षकको हत्या गरेका छन् ।
सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई मंगलबार ४–५ जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले अपहरण गरेका थिए ।
घरबाट करिब १ किलोमिटर टाढा जंगलमा हात बाँधेर घाँटी रेटेको अवस्थामा उनको शव फेला परेको मोरङका एसपी सन्तोष खड्काले बताए । श्रेष्ठसँग नेकपाले चन्दा मागेको प्रहरीले दाबी गरेको छ ।
यता, श्रेष्ठको हत्याको जिम्मेवारी लिँदै विप्लवको नेकपाले प्रतिकारमा उनको मृत्यु भएको दाबी गरेको छ । मेची कोसी ब्युरोले मंगलबार साँझ विज्ञप्ति जारी गरी विज्ञप्तिमा श्रेष्ठले सुराकी गरेको आरोप लगाइएको छ ।
उनलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न लागेपछि प्रतिकार गर्दा श्रेष्ठको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।




