संसद विघटन र संकटकालको त्रासले डराउँदैनौं : नेपाल

नेकपा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संसद विघटन, संकटकाल र अध्यादेशको त्रासबाट कोहि पनि नडराउने टिप्पणी गरेका छन् ।

फाउन्डेसन फर क्रिटिकल डिस्कोर्सले आयोजना गरेको वेबिनारमा उनले भने, ‘धम्की धमास देखाएर, पार्टी फोडिदिन्छु भनेर, संसद विघटन गरिदिन्छु भनेर, इमर्जेन्सी लगाइदिन्छु भनेर, अध्यादेश ल्याइदिन्छु भनेर तर्साएर कोही तर्सिनेवाला छैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई धम्की नदिन चेतावनी दिँदै उनले अनन्तकालसम्म पार्टीको बैठक लम्ब्याउन नसकिने पनि बताए।

कमिटीहरुमा अल्पमतमा परेका प्रधानमन्त्री ओलीले चाल्नसक्ने विभिन्न विकल्प र संभावनामध्ये अध्यादेश ल्याएर विभाजनको परिस्थिति निर्माण गरी पार्टी फुटाउने, संसद भंग गर्ने, संकटकाल लगाउने लगायत संभावना रहेको अनुमान गरिएको छ। नेता नेपालले भने, ‘सधैभरी लम्ब्याउँदै जादा पार्टी जनतामा बदनाम भैरहेको छ, सरकार अलोकप्रिय भैरहेको छ, पार्टी नामको चिज कागजमा सिमित छ। यो मृतप्रायः अवस्थामा पुगेको छ।’

उनले पार्टीमा मानिस संगठित नै हुन छाडेको, पार्टी कमिटी क्रियाशील नै हुन नसकेको बताए। ‘यस्तो अवस्था भयो भने हेर्दाहेर्दै पार्टी सकिन्छ,’ उनले भने ।

कार्यक्रममा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीले को ‘आइ एम द स्टेट जस्तो आइ एम द पार्टी जस्तो व्यवहार गरेको आरोप लगाए ।