निर्वाचनमा धाँधलीको कुनै प्रमाण छैन : अमेरिकी न्याय विभाग

अमेरिकी न्याय विभागले गत नोभेम्बर ३ को राष्ट्रपतीय निर्वाचनमा कुनै धाँधली नभएको भन्दै पहिलोपल्ट मुख खोलेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको लगातारको झुटो दावीलाई झापड लगाउँदै सरकारकै एक प्रमुख निकाय न्याय विभागले आफ्नो तहको छानबिनपछि यो निर्वाचनमा धाँधलीको कुनै प्रमाण नभएको स्पष्ट पारेको हो ।

अमेरिकी महान्यायाधीवक्ता विलियम बारले राष्ट्रपति ट्रम्पको दावीलाई निराधार जिकिर गर्दै यो निर्वाचनमा धाँधलीको कुनै प्रमाण नभेटिएको मंगलबार बताएका हुन् ।

पूर्वउपराष्ट्रपति जो बाइडेनसँग भारी मतले पराजित भएपछि वर्तमान राष्ट्रपति ट्रम्पले धाँधली गरि चुनावी नतिजा चोरेको भन्ने झुटो आरोप लगाउँदै आएका छन् । ट्रम्पले अहिलेसम्म निर्वाचनको नतिजालाई स्वीकार गरेका छैनन् भने विभिन्न राज्य र काउन्टीहरुमा मुद्दा दायर गरेका छन् । यद्यपी उनका अधिकाँश मुद्दा कुनै तथ्य र प्रमाण नभेटिएको भन्दै खारेज भइसकेका छन् ।

ट्रम्पको आक्रोशपूर्ण आरोपकै आधारमा महान्यायाधीवक्ता बारले आफु मातहतको न्याय विभागअन्तर्गतका सबै निकायलाई चुनावी प्रक्रियामाथि छानबिन गर्न निर्देशन दिएका थिए ।

न्याय विभाग प्रमुखको यस्तो भनाई सार्वजनिक भएपछि पनि राष्ट्रपति ट्रम्प अझै धाँधलीको झुटो दावी गरिरहेका छन् । उनले मंगलबार पनि ट्वीटरमार्फत् यस्तो दावी दोहोर्याएको सिएनएनले उल्लेख गरेको छ ।

न्याय विभागले ट्रम्पको आरोप वा दाबी पत्याउने कुनै प्रमाण नदेखेको महान्यायाधीवक्ता बारले अमेरिकी समाचार संस्था एपीलाई बताएका हुन् ।

‘अहिलेसम्म चुनावको नतिजा फरक हुने खालको कुनै धाँधलीको संकेत हामीले भेटेका छैनौँ ’बारले एपीसँगको अन्तवार्तामा भने ।

बाइडेनले राष्ट्रपतिमा निर्वाचित आवश्यक बहुमत अर्थात् २७० मध्ये ३०६ इलेक्टोरल कलेज मत पाएका छन् । ट्रम्पको पक्षमा २३२ इलेक्टोरल कलेज मत छ । यस्तै बाइडेनले पपुलर मतमा पनि ट्रम्पभन्दा ६२ लाख मत बढी ल्याएका छन् ।

बाइडेनलाई डिसेम्बर १४ मा इलेक्टोरलहरुले औपचारिक रुपमा राष्ट्रपति पदमा चयन गर्नेछन् । यस्तै जनवरी २० मा सपथ ग्रहण समारोहसँगै बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्नेछन् ।