प्रचण्डले पार्टी एकता भंग गरे : महर

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता भंग गरेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) का संयोजक ऐन महरले आरोप लगाएका छन्।

गत कात्तिक २८ गते सचिवालय बैठकमा ‘राजनीतिक प्रस्ताव’ भन्दै प्रस्तुत गरेको ‘आरोप पत्र’ लाई पार्टीको अनुमति विना प्रकाशन गरेर पार्टी एकताको भंग गरेको आरोप संयोजक महरले लगाएका हुन्। सामाजिक सञ्जालमा ‘कमरेड प्रचण्डले पार्टी एकता भंग भएको घोषणा गर्नु भएको छ’ भन्‍दै महरले आफ्नो धारणा राख्दै प्रचण्डको सो कार्यको सामना गर्न पनि आव्हान गरेका छन्। 

‘पार्टीको सचिवालय बैठकमै अवैधानिक रूपमा प्रस्तुत भएको कथित राजनीतिक प्रतिवेदन भनिएको आरोपपत्र, जसलाई सचिवालयको बैठकमा पार्टीका सिनियर अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले खारेज गरिसक्नु भएको छ’, संयोजक महरले फेसबुकमा लेखेका छन, ‘र, त्यसको उचित जवाफ दिने भनि यही मंसिर १३ गते सचिवालय बैठक समेत आह्वान गरिसकेको परिस्थितिमा हतार-हतार त्यसलाई पुस्तकमा प्रकाशन गरेर तल्ला कमिटीमा छलफलका लागि पठाउने काम अवैधानिक अमर्यादित, अनुशासनहीन र पार्टी एकता भंगको आधार निर्माण गर्नुभएको छ।’

‘यसको दृढतापुर्वक सामना गर्न म सम्पूर्ण न्यायप्रेमी प्रगतिशिल रास्ट्रवादी नेकपाका कार्यकर्ता एवम् युवा विद्यार्थी साथीहरूमा हार्दिक अपिल गर्दछु।’