४ बजे सचिवालय बैठक, ओलीसँग वारपारको अन्तर्संघर्ष हुँछ : प्रचण्ड

सत्तारुढ नेकपाको सचिवालय बैठक आज ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्दै छ ।

विवादका बीच हुन लागेको बैठकलाई निकै चासोका साथ हेरिएको छ । बैठकअघि नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अरु ४ सचिवालय सदस्यलाई पत्र लेखेका छन् । पत्रमा ५ सदस्यले गुटबन्दी गरेको, सरकारलाई असफल बनाउन भूमिका खेलेको लगायतका आरोप लगाएका छन् ।

बैठकअघि प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीसँगको अन्तर्संघर्ष वारपारको हुने जनाएका छन् । बुधबार साँझ पूर्वमाओवादीका युवा र विद्यार्थी संगठनका नेताहरुसँग अब ओलीसँग सहज सम्झौता सम्भव नभएको जनाएका हुन् ।

प्रचण्डले अहिलेको अन्तर्संघर्ष पदीय लेनदन र भागबन्डाको नभएर वैचारिक भएको दाबी गरेका छन् । ‘केपीजीले पटक–पटक पूर्वएमाले र पूर्वमाओवादीजस्तो कित्ता बनाएर पार्टी फुटाउन खोज्नुभो, तर पार्टी एकता जोगाएकै मैले र माधवजीले हो । उहाँले त वैशाखमै पार्टी फुटाउन खोज्नुभएको थियो, तर असफल भएपछि अहिले फेरि पूर्वएमाले र पूर्वमाओवादी भनेर कित्ताकाटको अधिकतम कोसिस गरिराख्नुभएको छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक विद्यार्थी नेताले भने ।

प्रचण्डले आफूहरुले नेकपा बनाउन खोजिरहेको र ओलीले एमाले बनाउन खोजेको जनाएका छन् । उनले पार्टी फुटाए ओलीले नै फुटाउने जनाएका छन् ।