नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पाँच शीर्ष नेताबीचको छलफल सकिएको छ।
सचिवालय बैठक बोलाउन ओलीलाई सामूहिक रुपमा लिखित आग्रह गर्न अध्यक्ष प्रचण्डसहित पाँच शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए। पार्टीको बैठक बोलाइनुपर्ने, यसअघि भएका निर्णय कार्यान्वयन गर्नुपर्ने, पार्टीसँग सरसल्लाहका आधारमा सरकारका गतिविधि सञ्चालन गरिदिनुपर्ने लगायतका विषय लिखित पत्रमा समेटिएका छन् ।
तत्काल पार्टी सचिवालय बोलाउन अध्यक्ष ओलीलाई आग्रह गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
सम्भव भए आइतबार नभए सोमबारसम्ममा बैठक बोलाउन आग्रह गरिएको छ । ओलीले यस विषयमा कुनै प्रतिक्रिया नदिएको स्रोतले जनाएको छ । बालुवाटार जानुअघि बहुमत सचिवालय सदस्यहरुले पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेका थिए।
बिहानको छलफलमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी थिए। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार बोलाएको सचिवालय बैठकले अर्का अध्यक्ष ओलीसँग भेट गरी बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो।
file pix






