मुस्ताङमा समुदायमा संक्रमण, घरपझोङका स्कुल र यातायात बन्द

मुस्ताङको घरपझोङ गाउँपालिकाकी एक स्थानीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँबाहिर नगएकी वडा नं ४ की ३८ वर्षीया महिलालाई कोरोना देखिएपछि पालिकाभित्रका स्कुलहरु एक सातालाई बन्द गरिएको छ । महिलालाई कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरुको जाँच गर्न र जोखिम कम गर्न कात्तिक १३ देखि १९ गतेसम्म स्कुल बन्द गरिएको अध्यक्ष आशबहादुर थकालीले जानकारी दिए ।

सिसिएमसीको बुधबारको बैठकले पालिकामा सरकारी र आकस्मिक बाहेकका सवारी साधन सञ्चालनमा पनि एक हप्ताका लागि रोक लगाएको छ । मुस्ताङबाट कात्तिक ३ गते पठाइएको ४ जनाको स्वाबमध्ये १ जनामा संक्रमण देखिएको हो ।

यस्तै, कात्तिक ८ गते पिसिआर जाँच गर्दा सांग्रिला विकास बैंक घरपझोङ ३ मा कार्यरत एक कर्मचारीमा पनि कोरोना पुष्टि भएको थियो ।