‘लालपुर्जा दिलाइदिन्छु भनी पैसा उठाउनेलाई कारवाही गर’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पोखरा महानगर कमिटीले महानगरभित्रका केही स्थानमा
भूमिहीनहरुलाई जग्गा दर्ता गरिदिने, लालपुर्जा दिलाइदिने भनी रकम असुल्ने काम भएको भन्दै आपत्ति जनाएको छ ।

मंगलबार प्रेस विज्ञप्ति निकालेर महानगर अध्यक्ष दीपक पौडेल र सचिव विश्वप्रकाश लामिछानेले यसरी रकम उठाउनेलाई कारवाही गर्न माग गरेका हुन् । केहीलाई यो अभियोगमा पक्राउ गरी कारवाहीसमेत भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका गतिविधिमा संलग्न हुनेलाई हदैसम्मको कार्वाहीको लागि जोडदार माग गर्दछौं ।’

हालै नेपाल सरकारले सुकुम्वासी तथा अव्यवस्थित बसोवासजस्ता समस्या समाधान गर्न भूमि व्यवस्था आयोग गठन गरेको छ । महानगर, जिल्ला र प्रदेश तहमा आयोगका संरचना बन्ने क्रममा छन्, बनिसकेका छैनन् । विज्ञप्तिमा महानगरवासी र पार्ती कार्यकर्तालाई यस प्रकारका गतिविधिविरुद्ध दृढतापूर्वक लाग्नसमेत आग्रह गरिएको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।