‘मौलिक हक माग्ने अनसनकारीलाई धरपकड निन्दनीय’

नेपालको चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसी अहिले १९ औं पटक अनसनरत छन् । जुम्लाबाट अनसन थालेका उनलाई काठमाडौं ल्याएपछि सरकारले उपचारकै क्रममा धरपकड गरेपछि त्यसको सर्वत्र निन्दा भएको छ ।

राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालले नेपालको संविधानको मौलिक हक माग्ने अनसनकारीमाथि धरपकड हुनु लज्जास्पद भएको जनाएको छ । आइतबार विज्ञप्ति निकालेर संस्थाका अध्यक्ष विष्णुहरि अधिकारीले भनेका छन्, संविधानमै प्रत्याभूत स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गर्न नागरिकले अनसन बस्नुपर्ने र ती नागरिकमाथि राज्यले धरपकड गर्नु लोकतन्त्रकै लागि लज्जाको विषय हो ।’

विज्ञप्तिमा डा केसीसँग राज्यले विगतमा गरेका सहमति कार्यान्वयन र नेपालको शिक्षा सुधारको सुरुआत गरी उनको जीवन रक्षाका लागि समेत आग्रह गरिएको छ ।

८ वर्षदेखि पटक पटक अनसन बस्दै आएका केसीलाई पटक पटक सहमति गरी सरकारले माग कार्यान्वयनमा भने उदासिनता देखाउँदै आएको छ ।

केसील्े चिकित्सा शिक्षा ऐनमा संशोधन गर्नुपर्ने, प्रदेशमा खुलेका चिकित्सा अध्ययन संस्थानहरुमा स्रोत, साधन र जनशक्ति पु¥याएर एमबिबिएस अध्यापन तत्काल थाल्नुपर्ने, मेडिकल कलेज नभएका प्रदेशमा तत्काल स्थापना प्रक्रिया थाल्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि पिसिआर जाँच व्यापक बनाउनुपर्ने, सबै बिरामीले उचित उपचार पाउनुपर्ने व्यवस्था हुनुपर्ने लगायतका माग राखेका छन् ।