कोरोनाले लियो करिब १० लाखको ज्यान

कोरोना भाइरसका कारण विश्वमा ३ करोड ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म ९ लाख ९८ हजार ८ सय ६ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वका २ सय १५ मुलुकमा ३ करोड ३० लाख ६२ हजार पुगेको छ । ती संक्रमितमध्ये २ करोड ४४ लाख कोरोना संक्रमित कोरोनासँगको लडाइँ जितेर घर फर्किसकेका छन् ।

पछिल्लो २४ घण्टामा थप २ लाख ९३ हजार ८ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये ५ हजार २ सय ९७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

विश्वमा सबैभन्दा संक्रमित हुने राष्ट्रममा संयुक्त राज्य अमेरिका छ । अमेरिकामा पछिल्लो २४ घण्टामा मात्र ४३ हजारभन्दा बढी संक्रमित थपिएका छन् । हालसम्म अमेरिकामा संक्रमितहरूको संख्या ७२ लाख ८७ हजारभन्दा बढी पुगेको छ भने २ लाखभन्दा धेरैले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

यस्तै भारतमा कोरोना संक्रमितको संख्या अमेरिकापछि बढी छ । भारतमा पछिल्लो २४ घण्टामा ८८ हजार भन्दा बढी संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ५९ लाख ९० हजार पुगेको छ । भारतमा हालसम्म ९४ हजार ५ सय ३३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

भारतपछि कोरोना संक्रमितको संख्या बढी हुने देशमा ब्राजिल छ । ब्राजिलमा कूल संक्रमितको संख्या ४७ लाख १८ हजार ११५ पुगेको छ भने पछिल्लो २४ घण्टामा २५ हजारभन्दा बढी थपिएका छन् । यहाँ कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ४१ हजार पुगेको छ ।

धेरै संक्रमित भएको सूचीको चौथो स्थानमा रहेको राष्ट्र रसियामा कोरोना संक्रमितको संख्या ११ लाख ४३ हजार ५ सय ७१ पुगेको छ । रसियामा २० हजार २ सय २५ जना संक्रमितले ज्यान गुमाएका छन् भने ९ लाख ४० हजार संक्रमित निको भइसकेका छन् ।

एसियाली मुलुकमा हालसम्म १ करोडभन्दा बढी संक्रमित भएका छन् भने पछिल्लो २४ घण्टामा मात्र १ लाख २५ हजार ९ सय ९१ जना संक्रमित थपिएका छन् ।

नेपालमा कोभिड–१९ संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको छ । यस्तो कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४६७ पुगेको छ ।