कबिता : असाध्यै मन पर्छ

यो शरदका मौसम
उज्याला मुहारहरु,
रातो माटो र कमरोले
चिटिक्क परेका घर
रंगीबिरंगी लुगामा
मुस्कुराएका बालबच्चा
रोटे पिंग र लिंगें पिंगमा
प्रफुल्ल मनहरु वाह
कति मनमोहक ?
बिदेशी कामदारहरु
स्वदेश फर्किए पछिको
लाहुरेको घर
अनि
सयपत्री मखमली
गर्भवती भएको मौसम
मलाई असाध्यै मन पर्छ ।

तरेली र फाँटहरुमा
झुलिरहेका धानका बालाहरु पनि
लाग्छ मेरो आगमनमा
मेरो स्वागतलाई शीर निउराई रहेका छन्
आलीका मास -भटमास पनि
खुशीले फुरङ्ग छन् हाम्रो मिलनमा
सुन्तला,कागती नीबू पनि
मेरो स्वागतमा लटारम्ब फलेर
शीर निहुराई रहेका छन्
यी सबैसंगको मिलन
मलाई असाध्यै मन पर्छ

७५काटेका बृध्दबृध्दा पनि
प्रफुल्ल देखिन्छन्
सन्तानको आगमनमा
आफ्ना अनेकौं पीड़ा लुकाएर
यस्तै ख़ुशी फुलिरहोस् सधै ति ओठमा
मलाई नेपाली बा आमाको
ओठको मखमली
असाध्यै मन पर्छ ।

तर मलाई आडम्बर
देखासिखी मन पर्दैन
दशैं मनाउने नाममा
ऋणको भारी बोकेर
जवारजस्त मुस्कुराउने सँग
गुनासो छ
बा आमाको औकात भन्दा
माथि उठने सन्तानसँग
मेरो गुनासो छ
श्रीमानको तलव भन्दा
महंगो सज्सजावट गर्नु पर्ने
ति नारीसँग
मेरो गुनासो छ ।

अन्धबिश्वासमा रुमालिएर
बिचारा ति निर्दोष पशु बली चढाएर
आफू महान सम्झनेसँग
श्रीमती ख़ुशी पर्न बा आमा
बृद्ध आश्रम पुर्याउने सन्तानसँग
मेरो धेरै गुनासो छ

आऊ बड़ा दशैं आऊ
सबैको ओठको मखमली भएर
अफ्ठ्यारामा मुस्कुराउने
सुनखरी र लाली गुराँस भएर
तिर्खाएका मनको जल भएर
चर्याएका घाउमा मलम भएर
आऊ बड़ा दशैं आऊ
नेपाल र नेपालीको घर घरमा
उमङ्ग र रहर बनेर आउँदा
तिम्रो आगमन मलाई
असाध्यै मन पर्छ ।।
२०७४/०६/१०