हर्पन खोलाको सिल्टेसन ड्याम भत्किन थाल्यो

फेवातालको अतिक्रमण कम गर्न हर्पन खोलामा बनाइएको सिल्टेसन ड्याम भत्किन थालेको छ ।

पोखरा महानगरका इन्जिनियर विमल आचार्यले ड्याम तल्लो भागमा करिब १५ मिटर भत्केको जानकारी दिए । उनले भने, ‘ड्याम २ ठाउँमा गरी करिब १५ मिटर भत्केको छ ।’ आचार्यले ड्याम गुणस्तरका कारणले भन्दा पनि त्यहाँ जम्मा भएको लेदो, गिटी आदि समयमै नझिकिँदा भत्केको बताए ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको संयुक्त लगानीमा फेवातालको सुन्दरता कायम गर्न यसलाई अतिक्रमणबाट जोगाउन फेवातालमा मिसिने ४ वटा खोलामा चेक ड्याम निर्माण गरिएको छ । अँधेरी खोला, हर्पन खोला लौरुप खोला र बेतयानी खोलामा छुट्टाछुट्टै ड्याम निर्माण गरिएको थियो ।

यी ड्याम बनाउन २८ करोड १६ लाख ११ हजार ७३ रुपैयाँ खर्च भएको छ । अँधेरी, हर्पन र लौरुप खोलाका ड्याम पिकेजी कम्पनीले र बेत्यायीनी खोलाको ड्याम श्री गीता जय नेपाल र ईश्वर जय नेपाल स्याङ्जाले पाएका थिए।

बेत्यायानीबाहेक अरु खोलामा ड्यामको काम सकिएको छ । यसअघि पनि पोखरा २३ स्थित अधेरी खोलामा बनेको सिल्टेसन ड्याममा समस्या आएको थियो। यो ड्यामको करिब ५० मिटर भाग भत्केको छ ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।