ओलीबाटै मलाई एकल अध्यक्षको प्रस्ताव आएको थियो : नेपाल

नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले पदका लागि कराउँदै हिड्ने मानिस नभएको बताएका छन् । उनले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो अन्तर्विरोधका क्रममा आफूलाई एकल अध्यक्षको प्रस्ताव गरेको उनको भनाइ छ ।

एक अनलाइनलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन्, ‘मलाई अध्यक्षको त प्रस्ताव नआएको होइन । औपचारिकरुपमै मलाई अध्यक्ष बनाउने प्रस्ताव आएको थियो ।’ तर आफैंले त्यो पदमा जान इन्कार गरेको उनको दाबी छ । तर आफूले प्रचण्डलाई माइनस गरेर जान नमिल्ने बताएको उनले सुनाए ।

जीवनभर चुनौतीको सामना गर्दै आएको उल्लेख गर्दै उनले आफू चुनौतीहरुसँग नडराउने उनले उल्लेख गरे । नेपालले भने, ‘चुनौतीहरुको सामना गर्दै आएको मान्छे हुँ । सुरुदेखिको मेरो जीवनका प्रत्येक पक्षलाई हेर्ने हो भने मैले चुनौतीहरुको सधैंभरि सामना गरेको छु ।’

निर्वाचित हुँदैमा पार्टीलाई भड्खालोमा हाल्न नमिल्ने उनको तर्क छ । नेपालले भने, ‘महाधिवेशनबाट आएको मान्छेले राम्रो काम गरेन र पार्टी भड्खालोमा गयो भने के हुन्छ ? पार्टी ओरालो लाग्न थाल्यो भने के हुन्छ ? त्यसैले हटाउन पाइँदैन भन्ने यो केन्द्रीय कमिटीका बारेमा राम्रो ज्ञान नभएका, राम्रो नबुझेका वा बुझ पचाएकाहरुले भन्ने कुरा मात्रै हो ।’

उनले अब दुई अध्यक्षको प्रतिवेदमा आफ्नो खास असहमति नभएको बताए । उनले कतिपय विषय संशोधन गर्नुपर्ने, थप व्याख्या गर्नुपर्ने भए समयक्रममा त्यसो हुने बताए ।