नेकपाको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाईसकेको छ ।
६ सदस्यीय कार्यदलले शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा पार्टीका तत्कालीन विवादहरुको समाधानको उपाय सुझाइएको छ ।
प्रतिवेदनमा पार्टीमा उत्पन्न अन्तरविरोध समाधान, पार्टी एकीकरणका बाँकी काम, पार्टीको एकता राष्ट्रिय महाधिवेशनको आयोजना, सरकारको काम, नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेसनबीचको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता, नेपालको सीमा समस्या र समाधान, कोविड–१९ महामारीको रोकथाम, नियन्त्रण, उपचार र आर्थिक–सामाजिक पुनरुत्थान र शान्ति प्रकृयाका बाँकी कामहरुसम्बन्धी प्रस्ताव छन् ।
Nekapa_karya_dalFinal-2077.05.06प्रतिवेदनमा दुई अध्यक्षले छलफल गरेपछि आवश्यकता अनुसार थपघट गरेर सचिवालयमा लैजाने र सचिवालयमा आवश्यक परिमार्जनपछि प्रतिवेदनलाई एउटा प्रस्तावका रुपमा स्थायी कमिटीमा लैजाने तयारी छ ।
कार्यदलमा प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट दुई–दुईजना नेता तोकिएका थिए । जसअनुसार पौडेल र शंकर पोखरेल ओलीनिकट, जनार्दन शर्मा र पम्फा भुसाल दाहाल तथा सुरेन्द्र पाण्डे र भीम रावल नेपालनिकट हुन् । साउन ३० गते कार्यदल गठन भएको थियो ।




