गण्डकी सरकारले माग्यो हुलाक निर्देशनालयको जग्गा

गण्डकी प्रदेश सरकारको भदौ ३ गते बसेको १३ औं मन्त्रीपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले क्षेत्रीय हुलाक निर्देशनालय पोखरा ७ सहिद चोकको जग्गा र भवन प्रदेश सरकारलाई उपभोगका लागि स्वीकृति प्रदान गर्न संघ सरकारलाई अनुरोध गरेको छ । गण्डकी सरकारका प्रवक्ता मन्त्री रामशरण बस्नेतले निर्णयहरु सार्वजनिक गरेका हुन् ।

बस्नेतले बैठकले प्रदेश स्तरीय बेरुजु फस्र्छाैट, अनुगमन र मूल्यांकनका लागि मुख्य सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको जानकारी दिए ।

यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयमातहत खाली रहेका इन्जिनियर र सबइन्जिनियरहरुको सम्बन्धमा निर्णय भएको छ । गत वर्ष करारमा राखिएका ८८ जनालाई निरन्तरा दिँदै र बाँकी ५५ जना राख्न स्वीकृति दिने निर्णय भएको छ ।

बैठकले लेखनाथमा रहेको सरुवा रोग अस्पताललाई १ सय बेडमा सुदृढीकरणका लागि साधन, स्रोत उपलब्ध गराउन संघ सरकारलाई अनुरोध गरेको छ । बस्नेतले गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानमा कर्मचारी खटाउनेसमेत निर्णय भएको जानकारी दिए ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।