बोटमै कुहियो मुस्ताङको स्याउ

- मुस्ताङमा यसवर्ष स्याउमा स्क्याब रोगको प्रकोप

स्याउ उत्पादनले प्रसिद्ध मानिएको हिमाली जिल्ला मुस्ताङमा यसवर्ष स्याउमा स्क्याब रोगको प्रकोप देखिएको छ। स्याउमा प्रकोप देखिएसंगै मुुस्ताङका किसानले उत्पादन गर्ने स्याउ बोटमै कुहिन थालेको हो ।

मुस्ताङको घरपझोङ— १ को छैरो÷चिमाङ र घरपझोङ—२ को मार्फाका किसानले लगाएको स्याउ बोटमा स्क्याब संक्रमण देखिएको हो । यस्तै ,थासाङ गाउपालिका—१ को टुकुचे र थासाङ गाउपालिका—२ को कोवाङ,खन्ती,नाउरिकोट र सौरु लगायतका गाउमा स्क्याबको प्रकोप देखिएको टुकुचेका किसान राजन शेर्पाले जानकारी दिए ।मौसमी आद्रताका कारण अविरल वर्षा र हुस्सुले स्याउ बोटमा प्रकोप देखा परेको स्याउ किसान शेर्पाले बताए ।

स्याउ बोटमा लाग्ने स्क्याब प्रकोपले विस्तारै बोटका पात झर्दै जाने ,स्याउ दानमा टिकटिके दाग देखिने ,पत्ता खुम्चिएर सेतो ढुसी लाग्ने र फलको गुणस्तरमा समेत हस आउने गर्छ । अहिले जिल्लाका २ स्थानीय तहमा यसप्रकारको रोग देखिएको अर्को स्याउ किसान निरज तुलाचनले जानकारी दिए । स्याउको उचित बगैचा व्यवस्थापन नभएमा र उचित तरिकाले आवश्यक सामधानी अपनाउन नसकेमा विभिन्न संक्रमण देखा पर्ने तुलाचनको भनाई छ ।यस वर्ष स्याउमा संक्रमण जोखिम न्युनिकरण गर्न किटनासक औषधिको अभाव भएको उनले बताए ।

यसवर्ष विश्वव्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस (कोभिड—१९) का लकडाउन र बेनी—जोमसोम सडक नदी कटानले अवरुद्ध हुदा किसानले आवश्यक औषधि खरिद गर्न नपाएकाले स्याउमा ठुलो क्षति व्यवहोर्नु परेको उनले खुलाए ।

स्याउमा स्क्याब रोग पैदा भएपछि स्याउ बगैचाका स्याउबोटहरु आर्कषक विहिन भएको अर्को किसान सपुत थकालीले जानकारी दिए ।विगत वर्षमा लटरम्म फलले थेग्न नसक्ने स्याउ बोटहरु खोक्रो र फुस्रो देखिएको उनले बताए । स्याउमा स्क्याब रोग देखिएसंगै किसानले लाखौ रुपिया घाटा व्यवहोर्नु पर्ने अवस्था आएको मार्फाका किसान दिपक लालचनले बताए । उनका अनुसार

स्याउ बोटमा उस्तो स्याउ नफलेको र फलेको स्याउ पनि गुणस्तरहिन रहेको पाईएको छ ।
गत वर्ष मुस्ताङमा ६५ सय मेट्रिक टन स्याउ फलेको थियो ।आव वर्ष २०७५÷०७६ मा मुस्ताङमा ५८ सय मेट्रिक टन स्याउ फलेको स्याउ जोन मुस्ताङले जनाएको छ । कार्यालयका अनुसार मुस्ताङमा पछिल्लो समय १६ सय हेक्टर जमिनमा स्याउ खेती विस्तार भएपनि उत्पादन क्षेत्र ५ सय हेक्टर रहेको जनाईएको छ ।

सडक अवरुद्ध र कोरोना कहरले स्याउको बैनापट्टा प्रभावित ः
बेनी—जोमसोम सडक बाढी÷पहिरो र नदी कटानले अवरुद्ध भएको र कोरोना कहरले सृर्जित विषम अवस्थाका कारण मुस्ताङमा स्याउ बगैचाको बैना÷पट्टा प्रभावित भएको छ ।बर्सेनि श्रावण र भदौ महिनामा स्याउ व्यापारीले मुस्ताङका किसानसंग स्याउको बैना पट्टा लगाउने चलन छ ।

धादिङ,बाग्लुङ,म्याग्दी र कास्की लगायतका व्यापारीहरु मुस्ताङ आएर किसानको बगैचामा फलेका स्याउको बैना पट्टा लगाउने गर्छन । महिलाहरुको महान पर्व हरितालिका तिज पर्वलाई लक्षित गरी मुस्ताङको २५ प्रतिशत स्याउ जिल्ला बाहिरिने गर्छ । तिजका लागि स्याउ खरित्न आउदा स्याउ किसानलाई व्यापारीले पेश्की दिने गरेको जोमसोमका किसान अजित थकालीले बताए ।

उनका अनुसार सडकको दुरअवस्था र कोरोना कहरले मुस्ताङको स्याउले बजारिकरणमा समस्या पर्ने देखिएका छ । स्याउ किसानले यतिबेला आफुले उत्पादन गरेको स्याउ कतै बिक्री नहुने होकी भनी चिन्तित देखिएको थकालीले बताए ।
फोटो क्याप्सन ः
मुस्ताङको स्याउ बगैचामा स्क्याब रोग देखिएपछि बोटमै स्याउ कुहिन थाल्यो । तस्विर ःएसके थकाली ।