जोमसोम विमानस्थलमा हिउँ चितुवा

- नेपालको राष्ट्रिय झन्डासहित विभिन्न रंगका ७ वटा झन्डा


—हिमाली जिल्लाहरु मध्येकै भौतिक पूर्वाधार लगायतले समृद्ध मानिएको मुस्ताङको एकमात्र जोमसोम विमानस्थलको बाहिरी आवरणमा पछिल्लो समय निकै परिवर्तन आएको छ । विश्व व्यापी माहामारीको रुपमा फैलिएको नोवल कोरोना भाईरस ( कोभिड—१९)का कारण गत चैत्र ११ गते देखि बन्द रहेको जोमसोम विमानस्थलमा जोमसोम नागरिक उड्यन कार्यालयले पर्यटक आतिथ्यता र विमानस्थलको बाहिरी आवरणको साजसज्जा गरेको छ ।

कोरोना कहरले विमानस्थलको गतिविधि सुन्य भएपछि जोमसोम नागरिक उड्यन कार्यालयले विमानस्थलको बाहिरी आवरणलाई सृजनात्मक रुपमा साजसज्जा गरी आर्कषक बनाएको छ ।पोखरा देखि मुस्ताङ घुम्न जाने आन्तरिक तथा बाह्य पर्यटकले जोमसोम विमानमा अवतरण गरेपछि विमानस्थलको साविक स्वरुप भन्दा नयाँ अनुभुती गर्नसक्ने जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दिपक विकले जानकारी दिए ।

विमान स्थल ओर्लिएका पर्यटकले कालोपत्रे धावनमार्ग नजिकै मिश्रित गिटी ढुंगा र सिमेन्टले कलात्मक अक्षरले वेलकम टु जोमसोम लेखिएको आकृति साजसज्जा गरेको देख्न पाउने छन् ।जसमा नेपालको राष्ट्रिय झन्डासहित विभिन्न रंगका ७ वटा झन्डा राखिएको कार्यालय प्रमुख विकले बताए । अब कोरोना भाईरस सामान्य भई पोखरा—जोमसोम उडान संञ्चालन भएपछि विमान स्थल उत्रने पर्यटकले वेककम टु जोमसोम र ७ वटा झन्डाको ब्याकराउण्ड प्रोफाईल राखेर तस्विर खिच्न मिल्ने व्यवस्था मिलाईएको हो ।

यस्तै,विमान स्थलको उत्तरतर्फ फर्किदा आउने बाटोमा दुर्लभ हिमचितुवाको कलात्मक तस्विर सजाईएको छ । हिमचितुवा हिमाली जिल्लाको महत्वपूर्ण वन्यजन्तु भएकाले यहाको जैविक सम्पदाको परिचय प्रवाह गर्न विमानस्थलले सानो प्रयास गरेको कार्यालय प्रमुख विकको भनाई छ । कार्यालयले लकडाउनको अवस्थालाई सदुपयोग गर्दै विमान स्थलको आन्तरिक सजावटमा पहल गरेको जनाएको छ ।

यस्तै ,कार्यालयले विमान स्थल कालोपत्रे धावन मार्ग मुख्यद्धार आसपास धुपीका रुखहरुको कटिङ र साजसज्जा गरेको छ भने त्यस आसपास दुबो समेत लगाईएको छ ।जोमसोम नागरिक उड्यन कार्यालयले लकडाउनको ४ महिने अवधिमा विमानस्थलको आन्तरिक सजावटकार्य सम्पन्न गरेको जनाएको छ ।

यसअघि जोमसोम विमान स्थलको स्तरोन्नति भई पुरै रन वे कालोपत्रे भएको थियो भने विमानस्थलको ढलहरुको व्यवस्थापन भएको छ । जोमसोम विमानस्थलमा नागरिक उड्यन कार्यालयले गतवर्ष एकथान वारुणययन्त्र समेत उपलब्ध गराईसकेको छ ।