लोमान्थाङको ठिङ्गरमा खेलकुद महोत्सव

- उदयश्री युथक्लव भलिबल र फुटबलको च्याम्पियन

बर्सेनि आलोपालोको रुपमा संञ्चालन हुने उपल्लो मुस्ताङको गौरवको खेलकुद महोत्सव लो—छ्योग्यल जिग्मे मेमोरियल कपको भलिबल र फुटबलको उपाधि उदयश्री युथक्लव घिलिङले जितेको छ ।प्रतियोगिताको दोश्रो संस्करणका रुपमा माउण्ट पासाङ युथ क्लव ठिङ्गरले आयोजना गरेको दुबै खेलमा उदयश्री च्याम्पियन बनेको हो ।

उपल्लो मुस्ताङको खेलक्षेत्रको विकास र त्यसको प्रर्वद्धन गर्ने उद्देश्यले गत श्रावण १७ गतेबाट १० दिनसम्म खेल संञ्चालन भएको आयोजक माउण्ड पासाङ युथ क्लवले जनाएको छ । सोमबार संम्पन्न फुटबल प्रतियोगिताको अन्तिम फाईनल खेलमा उदयश्री भर्सेस स्नोल्याण्ड युथ क्लव फुवा आमने—सामने भएका थिए । निर्धारित ९० मिनेटको समयमा दुबै टिमबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । यसपछि थपिएको ३० मिनेटको समयमा पनि दुबै टिमबाट गोल नभएपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा उदयश्रीले ८—६ गोल अन्तरले हराउदै च्याम्पियन बन्यो । यस्तै ,भलिबलतर्फ उदयश्रीले ३—१ को सेटमा बुद्धशान्ति युथ क्लवलाई हराउदै च्याम्पिन बन्यो ।

प्रतियोगिताको च्याम्पियन उदयश्री युथ क्लवले फुटबलतर्फ नगद ७५ हजार र भलिबल तर्फ ५० हजारसहित सिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ,फुटबलको उपबिजेता स्नोल्याण्ड युथक्लवले नगद ५० सहित सिल्ड,मेडल र प्रमाणपत्र पायो । यस्तै भलिबलको उपबिजेता बुद्धशान्ति युथ क्लवले नगद २५ हजारसहित सिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका विभिन्न क्लव सम्मिलित खेलमा कुल १४ टिमले भाग लिएका थिए ।

यसअघि प्रतियोगिताको संघीय सांसद प्रेमप्रसाद तुलाचनले उद्घाटन गरेका थिए । सांसद तुलाचनले खेलकुदको विकासले पनि आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । उनले उपल्लो मुस्ताङ सांस्कृतिक हब भएको र अब यसलाई खेलकुद हबको रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गर्न जरुरी रहेको जनाए । कार्यक्रममा जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ ,लोमान्थाङ गाउपालिकाका अध्यक्ष सुवर्णकुमार बिष्ट र लोघेकर गाउपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको उपस्थिती रहेको थियो ।