उपचार-शव व्यवस्थापनसम्म चुक्यो सरकार

शनिबार मध्यराति निधन भएका पोखरा १९ का कोरोना संक्रमितको शव व्यवस्थापनको टुंगो अझै लागेको छैन ।

पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियुमा मृत्यु भएका ६२ वर्षीय यी पुरुष मधुमेहका समेत बिरामी थिए । प्रतिष्ठानमा मृत्यु हुने यी तेस्रो कोरोना संक्रमित हुन् ।

यसअघि प्रतिष्ठानमा निधन भएका पहिलो कोरोना संक्रमितको पोखरा ११ को सेती नदी किनारमा शव व्यवस्थापन गर्ने क्रममा वडाध्यक्ष घाइते भएका थिए भने केही पक्राउ परेका थिए । दोस्रो मृतकको लेखनाथमा शव व्यवस्थापन गर्ने क्रममा आधा दर्जन बढी पक्राउ परेका थिए ।

२ पटक शव व्यवस्थापनमा अवरोध भए पनि महानगरले शव व्यवस्थापनको स्थायी ठाउँ पहिचान गरेको छैन । मेयर मानबहादुर जिसीले सार्वजनिक रुपमा शव व्यवस्थापनमा पनि अवरोध हुनु अमानवीय भएको बताउँदै आएका छन् । महानगर प्रवत्ता धनबहादुर नेपालीले शव व्यवस्थापन स्थल पहिचानका लागि बैठक भइरहेको जानकारी दिए ।

कोरोना संक्रमितको शव व्यवस्थापन नेपाली सेनाले गर्ने र स्थान महानगरले पहिचान गर्ने व्यवस्था छ ।

कोरोना संक्रमण नियन्त्रण र संक्रमितको उपचारमा प्रदेशको बागडोर सम्हालेको प्रदेश स्वास्थ्य निर्देशनालय पनि जिम्मेवारीमा चुकेको छ । कोरोना उपचार केन्द्र बनाइएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्ष भरिएको छ ।

आरम्भमा विभिन्न निजी अस्पतालमा कोरोना उपचारको व्यवस्था गरिने निर्देशनालयले जनाए पनि ती अस्पतालमा आइसोलेसन कक्ष बनेनन् । पोखरा १९ मा पछिल्लो पटक संक्रमण पुष्टि भएका ६ मध्ये ४ संक्रमित अझै घरमै छन् ।

५० वर्षमाथिका संक्रमितहरु घरमै राख्नुपर्ने अवस्था आएको छ । लेखनाथको लायन्स अस्पतालको स्वामित्व प्रदेश सरकारले लिए पनि त्यहाँ आइसोलेसन कक्ष तयार भइसकेको छैन ।

समुदायमा कोरोना संक्रमणको त्रास बढिरहेका बेला स्थानीय सरकार र प्रदेश स्वास्थ्य निर्देशनालयको फितलो कार्यशैलीले महामारी नियन्त्रणमा चुनौती थपेको छ ।

सर्वसाधारणसमेत महामारीमा आवश्यक जति सचेत देखिएका छैनन् । भौतिक दुरी कायम गर्ने, सुरक्षाका उपायहरु अवलम्बन गर्ने र अत्यावश्यक नभई घर बाहिर ननिस्कने सावधानीका मुख्य उपाय कमै अवलम्बन गरिएको देखिन्छ । महामारीमा पनि प्रार्थनाबाट कोरोना निको हुन्छ भन्ने भ्रममा जमघट भएको छ ।

विभिन्न तहका सरकारको प्रभावकारी कदम, नागरिक सचेतना र परस्परिक सहयोग नभए महामारीका कारण हामीले निकै ठूलो मूल्य चुकाउनुपर्छ । बेलैमा सचेत बनौं ।